काठमाडौं । पेरिस पाराओलम्पिकमा कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई काठमाडौं महानगरले ५ लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ ।
काठमाडौं प्लाजामा बुधबार आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सम्मान पत्र र उपप्रमुख सुनिता डंगोलले चेक हस्तान्तरण गरे। त्यस अवसरमा पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई ३ लाख रुपैयाँसहित सम्मान गरिएको थियो।
त्यस्तै पलेसाकी माता पनिता गोवर्धन र पिता प्रदिप गोवर्धनलाई पनि सम्मान गरिएको थियो।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख शाहले भने, ‘नेपालले गर्न सक्छ, भन्ने देखाउन कठिन भइरहेको वर्तमान अवस्थामा ऐतिहासिक पदक दिलाउनुले, नेपालले गर्न सक्छ भन्ने सन्देश दिएको छ। सीमित स्रोतबाट यो पदक हासिल हुनुले खेल क्षेत्रमा जे छ, त्यसैमा पनि गर्न सकिन्छ भन्ने उदाहरण र हौसला दिएको छ।’
पलेशाका मातापिताको योगदानमा कुरा गर्दै उनले खेलमा लाग्नेले पढ्दैनन् भन्ने अभिभावकको सोच परिवर्तन हुनुपर्ने बताए।
