मंगलबार, कात्तिक ११ गते २०८३    

मंगलबार, कात्तिक ११ गते २०८३    

बालोन डि'ओर

ह्यारी र एलेक्सियाले जिते बालोन डि'ओर

ह्यारी र एलेक्सियाले जिते बालोन डि'ओर

मंगलबार, कात्तिक ११ २०८३
मंगलबार, कात्तिक ११ २०८३
  • इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले फुटबलको प्रतिष्ठित व्यक्तिगत पुरस्कार बालोन डी’ओर जितेका छन् ।

    सन् २०२५–२६ को सिजनमा कीर्तिमानी प्रदर्शन गर्दै क्लब र देशका लागि उत्कृष्ट गोल गरेका केनले आफ्नो करियरको लामो प्रतीक्षापछि यो सम्मान हात पारेका हुन् ।

    केन पछिल्लो २५ वर्षमा बालोन डी’ओर जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन् । यसअघि सन् २००१ मा माइकल ओवेनले यो पुरस्कार जितेका थिए ।

    सोमबार पुरस्कार ग्रहण गरेपछि केनले खुसी व्यक्त गर्दै भने, ‘वाह, वाह, वाह ! म लगभग निःशब्द भएको छु । लन्डनमा यो पुरस्कार ग्रहण गर्न पाउनु मेरा लागि अझ विशेष बनेको छ । आजको रात मेरा लागि शुभ संकेतजस्तै भएको छ । मलाई मतदान गर्ने सबैलाई धन्यवाद । यस वर्ष विजेता छनोट गर्न निकै कठिन भएको हुनुपर्छ भन्ने म कल्पना गर्न सक्छु ।’

    उनले समारोहमा उपस्थित विश्वस्तरीय खेलाडीहरूलाई बधाई दिँदै सबै विजेता तथा मनोनयनमा परेका खेलाडीको प्रशंसा गरे । उनले दृढ संकल्प र कडा मेहनतले ठूलो सफलता हासिल गर्न सकिने पनि बताए ।

    केनले सन् २०२३ मा बायर्न म्युनिखमा आबद्ध भएपछि लामो समयदेखि प्रतीक्षा गरिरहेका टोलीगत उपाधिहरू जित्ने अवसर पाएका थिए । सन् २०२५–२६ को सिजनमा उनले उपाधिसँगै व्यक्तिगत गोलको कीर्तिमानसमेत कायम गरे ।

    इंग्ल्यान्डका कप्तान केनले उक्त सिजन बायर्नका लागि सबै प्रतियोगितामा गरी ५१ खेलमा ६१ गोल गरेका थिए । उनको उत्कृष्ट प्रदर्शनमा बायर्नले जर्मनीको घरेलु लिग र कप दुवै उपाधि जित्दै सिजनको अन्त्य गरेको थियो ।

    सिजनभर निरन्तर गोल गर्दै केन युरोपका अग्रणी गोलकर्ताका रूपमा स्थापित भए । क्लबका लागि उनको प्रभावसँगै राष्ट्रिय टोलीमा पनि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । विश्वकपको उपाधि जित्ने दशकौंदेखिको प्रतीक्षा अन्त्य गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको इंग्ल्यान्डका लागि केन पुनः प्रमुख खेलाडी बने ।

    उनले विश्वकप प्रतियोगितामा ६ गोल गरे र इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्‍याएका थिए ।

    त्यस्तै, स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले महिलातर्फको बालोन डी’ओर (बालोन डी’ओर फेमिनिन) तेस्रोपटक जितेकी छन् ।

    सन् २०२५–२६ को सिजनमा बार्सिलोनाबाट खेल्दै उनले घरेलु लिगसहित तीन प्रमुख उपाधि (ट्रेबल) जितेकी थिइन् । त्यसबाहेक बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधिसमेत जितेको थियो ।

    १४ वर्ष बार्सिलोनामा बिताएकी पुटेलास गत जुलाईमा महिला सुपर लिगको क्लब लन्डन सिटी लायनेसमा आबद्ध भएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार