दशैंको अवसर पारेर प्रदर्शनमा आएका तीन वटा सिक्वेल फिल्म 'आ बाट आमा २', 'छ माया छपक्कै २' र '१२ गाउँ-२' को कमाई सार्वजनिक भएको छ ।
चलचित्र विकास बोर्डले सोमबार तीन फिल्मको व्यापारिक आँकडा सार्वजनिक गरेको छ । बोर्डको रिपोर्ट अनुसार तीन फिल्मले आइतबार सम्म साढे ८ करोड माथिको व्यापार गरेका छन् ।
दशैंका तीन फिल्ममा 'आ बाट आमा २' सबै भन्दा अगाडि छ । आइतबार सम्मको रिपोर्ट अनुसार 'आ बाट आमा २' ले ४ करोड ११ लाख ४६ हजार ८४८ रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
यो फिल्मपछी व्यापारिक रुपमा 'छ माया छपक्कै २' दोस्रो स्थानमा छ । यस फिल्मले २ करोड ७६ लाख ३९ हजार ६५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
त्यस्तै '१२ गाउँ-२' तेस्रो स्थानमा छ । यस फिल्मले १ करोड ८३ लाख ९४ हजार ८८६ रुपैयाँ ग्रस कमाई गरेको छ ।
बोर्डले दशैं अघि सार्वजनिक भएका तीन फिल्म 'गौथली', 'पेन्सन पट्टा' र 'बा : एक योद्धा' को कमाई पनि सार्वजनिक गरेको छ ।
यो वर्ष सर्वाधिक कमाउने फिल्म 'गौथली' ले २६ करोड ३ लाख १४ हजार ९०, 'पेन्सन पट्टा' ले १० करोड २३ लाख ५६ हजार १३८ र 'बा : एक योद्धा' ले ३ करोड ५१ लाख ३९ हजार ४८ रुपैयाँ ग्रस कमाइँ गरेका छन् ।
