शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

नवदुर्गा भवानी भजन

विजया दशमीको अवसरमा ‘नवदुर्गा भवानी’ भजन सार्वजनिक

विजया दशमीको अवसरमा ‘नवदुर्गा भवानी’ भजन सार्वजनिक

परम्परालाई आधुनिक शैलीमा प्रवाह गर्दै आम दर्शक–श्रोतालाई सन्देश दिनु नै आफ्नो उद्देश्य भएको पोखरेलको भनाइ

शनिबार, असोज ११ २०८२
शनिबार, असोज ११ २०८२
  • काठमाडौं । राष्ट्रिय लोक भजन चुट्का संस्कृती संरक्षण प्रतिष्ठान नेपाल, बाग्मती प्रदेश कमिटिका महासचिव टेकराज पोखरेलले यस वर्षको विजया दशमीको अवसर पारेर नवदुर्गा भवानी भजन सार्वजनिक गरेका छन् । 

    भजनलाई धना पोखरेलले शब्दमा उतारेका हुन् भने टेक राज पोखरेल, रबिन्द्र पोखरेल, हरि प्रसाद पोखरेल, सरु न्यौपाने पोखरेल, कौसिला पोखरेल र भक्तिराम पोखरेल लगायतले स्वर दिएका छन् । भजनमा प्रमिता पोखरेलको नृत्य निर्देशन रहेको छ भने प्रमिता, शिल्पा, एलिसा, ममता र सम्झनाले प्रस्तुत गरेको आकर्षक नृत्यले भजनलाई झनै मनोरञ्जनपूर्ण र प्रभावशाली बनाएको छ ।

    भजनलाई कोहिनुर मिडिया प्रालिको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । रेकर्डिङ हुरि स्टुडियोमा गरिएको र भिजुअल छायांकन बागबजारस्थित होटल हार्दिकमा सम्पन्न गरिएको महासचिव पोखरेलले जानकारी दिए । छायांकनको निर्देशन बिपिन अनुरागीले गरेका हुन् भने आर.डी. दुलालसहितको प्राविधिक टोलीले क्यामेराको जिम्मेवारी वहन गरेको थियो । उनका अनुसार दिन–रात नभनी मेहनत गर्ने सम्पूर्ण प्राविधिक समूह र कलाकार बधाईका पात्र हुन् ।

    टेक राज पोखरेलले यो भजन आफ्नो पाँचौँ सिर्जना रहेको उल्लेख गर्दै भविष्यमा पनि निरन्तर धार्मिक र सांस्कृतिक भजनहरूको रचना, निर्माण र प्रसारणमा संलग्न हुने प्रतिबद्धता व्यक्त गरे । बिजया दसमी पश्चात् तुरुन्तै कृष्णलिला अन्तरगत गोपेनिहरु सङ्गको रोमाञ्चक मोडमा बन्सुरी हरायो मेरो खोजिदेउन बन्सुरी मेरो भन्ने बोलमा छैठौं संकरण पस्किन लागिएको छ । उनका अनुसार अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, स्याङ्जा लगायतका पहाडी जिल्लाहरू तथा तराईका नवलपरासी, रुपन्देही, कपिलवस्तु क्षेत्रमा यस्ता लोकभजन गाउने परम्परा अझै जीवित छ । यस परम्परालाई आधुनिक शैलीमा प्रवाह गर्दै आम दर्शक–श्रोतालाई सन्देश दिनु नै आफ्नो उद्देश्य भएको पोखरेलको भनाइ छ ।

    नवदुर्गा भवानीको यस भजनमार्फत विजयादशमी पर्वलाई अझ धार्मिक, सांस्कृतिक र मनोरञ्जनात्मक बनाउन प्रयास गरिएको छ । भजनले नेपाली समाजमा विद्यमान लोक परम्परा र आस्थालाई जोड्दै देवी दुर्गाप्रति श्रद्धा र विश्वासलाई बलियो बनाउने अपेक्षा लिइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार