प्रधानन्यायाधीश मनोज कुमार शर्माले इनम सापकोटासँग आफ्नो चिनजान र सम्पर्क नै नभएको बताएका छन् ।
विभिन्न सञ्चार माध्याममा समेत आफ्नो नाम जोडेर घुस लेनदेन भएको भनेर आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रधानन्यायाधीश शर्माले एक विज्ञप्ति मार्फत आफुसँग नाम जोडिएका व्यक्ति र प्रसंगमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् ।
शर्माले उक्त प्रसंग (घुस डिल गरिएको भन्ने प्रमाणमा) मा उल्लेखित मिति नोभेम्बर डिसेम्बर र जनवरीमा भएको भनिएको र आफू त्यस समयमा प्रधानन्यायाधीश पनि नभएको बताएका छन् ।
"मेरो नाम जोडेर आएका व्यक्ति र प्रसंगसँग मेरो कुनै संलग्नता छैन । ती व्यक्तिहरुसँग मेरो प्रत्यक्ष वा परोपक्ष रुपमा चिनजान र सम्पर्क समेत छैन । मैले कहि कतै भेटेको पनि छैन । उक्त प्रसंगमा उल्लेखित मिति नोभेम्बर, डिसेम्बर जनवरीमा म प्रधानन्यायाधीश पनि भइनसकेको अवस्था छ," प्रधानन्यायाधीश शर्माद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै शर्माले सार्वजनिक समाचारहरु आधारहिन र झुट्टा भएको दाबी गर्दै भ्रममा नपर्न अनुरोध गरेका छन् ।
तर, इनमसँग सम्बन्धित भनिएका केही सन्देशमा बहालवाला प्रधानन्यायाधीश मनोजकुमार शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल र सशस्त्र प्रहरीका एआईजी वंशी दाहालको नामसमेत उल्लेख भएको देखिएको छ ।
अमेरिकामा रहेको बैंक खाता मार्फत रकम जम्मा गर्ने विषयमा भएको संवादले उच्च पदस्थ व्यक्तिहरूको नाममा विदेशमा समेत ठुलो रकम राख्ने गरिएको विषयले यतिवेला गम्भीर प्रश्न उब्जाएको छ।
