विं. सं. २०८२ सालको मदन पुरस्कार विणा जोशीको ‘नेवार समुदायको परम्परागत मुकुण्डो नाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याखा) र जगदम्बार श्री पुरस्कार– २०८२ वरिष्ठ गीतकार किरण खरेलले प्राप्त गरेका छन् ।
आज बसेको मदन पुरस्कार गुठीको बैठकले २०८२ सालको मदन पुरस्कार जोशी र जगदम्बा श्री पुरस्कार खरेललाई प्रदान गर्ने निर्णय गरेको मदन पुरस्कार गुठीले जनाएको छ ।
जोशीको उक्त कृतिलाई सामुदायिक अभ्यासमा रहेको नेवार समुदायको परम्परागत मुकुण्डो नाचको सङ्कलन तथा अभिलेखीकरण गरेकाले मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। मदन पुरस्कारका लागि प्राप्त २९८ पुस्तकमध्ये १० वटा पुस्तक उत्कृष्ट सूचीमा परेका थिए।
त्यस्तै गुठीका अनुसार विगत छ दशकदेखि गीत लेखनमा समर्पित खरेललाई नेपाली गीत–संगीत क्षेत्रमा पुर्याएको योगदानको सम्मानस्वरूप जगदम्बा श्री पुरस्कार– २०८२ प्रदान गर्न लागिएको गुठीले जनाएको छ।
यसै अवसरमा गुठीले भदौ १० गते आएको विनाशकारी बाढी–पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि खटिएकाहरूलाई धन्यवादसमेत दिएको छ।
गत वर्ष २०८१ को मदन पुरस्कार छुदेन काविमोको ‘उरमाल’ कृतिलाई प्रदान गरिएको थियो भने जगदम्बा श्री पुरस्कार– २०८१ प्रेम देव गिरीले प्राप्त गरेका थिए ।
‘मदन पुरस्कार’ एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरू मध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो। ‘मदन पुरस्कार’ स्थापना हुने घोषणा सवर्प्रथम २०१२ साल असोज १० गते भएको थियो।
२०१३ सालमा पहिलोपटक “हाम्रो लोक संस्कृति” का लागि सत्यमोहन जोशी, “जनरल भीमसेन थापा” का लागि चित्तरञ्जन नेपाली तथा “अधिकविभव स्थिरविद्युत् उत्पादक” का लागि बलराम जोशीले ‘मदन पुरस्कार’ प्राप्त गरेका थिए ।
त्यस्तै ‘जगदम्बा– श्री’ पुरस्कार नेपाली भाषा, साहित्य, संस्कृति लगायतका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई सम्मान गरिने सम्मान पुरस्कार हो। गुठीका संस्थापिका स्व. रानी जगदम्बाकुमारी देवीको स्मृतिमा २०४५ सालमा यो सम्मान पुरस्कार स्थापना भएको हो।
यी दुवै पुरस्कारको राशी समान ४–४ लाख रुपैयाँ रहेको छ ।
