काठमाडौं । अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका– ६ लोलाङ बस्ने रसुवा गोसाईकुण्ड गाउँपालिका– १ थुमन घर भएका ३१ वर्षीय बुद्धी बहादुर तामाङ, काठमाडौं महानगरपालिका– १६ माछापोखरी बस्ने रसुवा गोसाईकुण्ड गाउँपालिका– ५ भार्खु घर भएका ३८ वर्षीय नुर्पु सिंगी तामाङ, रसुवा गोसाईकुण्ड गाउँपालिका– ६ धुन्चे घर भएका ४४ वर्षीय टेम्पा नुर्पु तामाङ र रसुवा कालिका गाउँपालिका– १ राम्चे घर भएका ४८ वर्षीय गोपाल तामाङ रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले गत असोज ४ गते काठमाडौं महानगरपालिका– १६ बालाजु माछापोखरीबाट पीडितहरूलाई ट्याक्सीमा राखी बुढानिलकण्ठ नगरपालिका नारायणस्थानस्थित शैलजा रिसोर्टमा लगि बन्धक बनाई कुटपिट गर्नुका साथै बैंकको चेक जबरजस्ती काट्न लगाई विभिन्न डर त्रास देखाई रकम समेत माग गरेको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरूलाई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।
