काठमाडौं । रोल्पामा घरभित्र पसेर छोएको निहुँमा एक दलित बालकमाथि निर्घात कुटपिट गरिएको घटना सार्वजनिक भएको छ।
जिल्लाको गंगादेव गाउँपालिका–५ फुल्बासमा बस्ने भीमबहादुर खत्रीका छोरा २१ वर्षीय टोपेन्द्र खत्रीले सोही स्थानका १० वर्षीय खगेन्द्र बिकलाई कुटपिट गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बालकलाई गम्भीर घाइते हुने गरी कुटपिट गरिएपछि दुवै पक्षबीच झडप हुँदा अन्य व्यक्तिहरू पनि घाइते भएका छन्।
रोल्पा पाखापानीका प्रहरी हवल्दार टंक पण्डितका अनुसार घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटिए पनि भौगोलिक विकटताका कारण घटनास्थल पुग्नुअघि नै दुवै पक्षका घाइतेहरू उपचारका लागि नेपालगञ्ज र दाङतर्फ लगिएको थियो।
यता, पीडित पक्षका गोपाल विकले भने टोपेन्द्र खत्रीले घरभित्र आएको भन्दै बालकलाई ज्यान मार्ने धम्की दिँदै कुटपिट गरेको आरोप लगाएका छन्। उनले बालकलाई घरभित्रै लगी ‘तल्लो जात भान्सामा किन आएको’ भन्दै पुनः मरणासन्न हुनेगरी कुटपिट गरिएको र पासो लगाउने प्रयाससमेत भएको दाबी गरे। निर्घात कुटपिटका कारण बालकको चिच्याहटपछि स्थानीयले थाहा पाई उद्धार गरेको उनको भनाई रहेको छ ।
घटनापछि घाइते बालकलाई अस्पताल लैजाने क्रममा गंगादेवको कुइनेटामा गाडी रोकी बालकका आफन्त गोपाल विकमाथि पनि धारिलो हतियार प्रयोग गरी आक्रमण गरिएको आरोप छ। उक्त आक्रमणमा उनी गम्भीर घाइते भएका छन् र उनको शरीरमा आठवटा टाँका लगाइएको बताइएको छ। गोपाल बिकले उक्त आक्रमणमा टोपेन्द्र खत्रीका बुबा र काका मस्तबहादुर खत्रीसमेत संलग्नता रहेको आरोप लगाए ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको फोटामा पनि १० वर्षीय बालक खगेन्द्रको बाँया आँखामाथि गहिरो चोटसहित अनुहार भरी नै चोट लागेर सुनिएको देख्न सकिन्छ । भने आफन्त गोपाल बिकको टाउँकोमा पनि गम्भीर चोट लागेको देख्न सकिन्छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी सुनिल थापा नेपालीका अनुसार बालकमाथि कुटपिट गर्ने टोपेन्द्र खत्री प्रहरीको फरार सूचीमा रहेका छन् । उनको घरपरिवारले टोपेन्द्र पनि घाइते भएको र उनी उपचारको लागि नेपालगञ्जतर्फ गएको बताए पनि उनी घाइते भए वा नभएको स्पष्ट नखुलेको सूचना अधिकारी सुनिल थापा नेपालीले जानकारी दिए ।
प्रहरीका अनुसार टापेन्द्रको खोजी कार्यका लागि आफूहरुले नेपालगञ्ज प्रहरीसँग समन्वय गर्दा पनि स्पष्ट जानकारी आइनसकेको र यस घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।
बागी पोष्टसँग कुरा गर्दै प्रहरी हवल्दार पण्डीतले घटना अनुसन्धानकै क्रममा रहेकाले यदी जातिय विभेद गरि कुटपिट गरेको प्रमाणित भए कानुन बमोजिम हुने समेत बताए ।
