काठमाडौं । वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी उदयपुर त्रियुगा नगरपालिका– १० ठेगाना भएका सुजन आचार्य पक्राउ परेका छन् ।
NCB PHNOM-PENH कम्बोडियाको समन्वयमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्नेरगराउने प्रयोजनार्थ शुक्रबार नेपाल फिर्ता ल्याइएको छ ।
प्रहरीका अनुसार वैदेशिक रोजगारीमा सिंगापुर पठाईदिन्छु भनि ४० जना भन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरी फरार भएका प्रतिवादीहरू सुजन आचार्य र बिनु शाक्यलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भएपश्चात २०८० माघ १९ गते उनीहरू विरुद्ध रेड नोटिस जारी भएको थियो ।
साथै सुजन विरूद्द २०७९ जेठ १३ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा विद्युतीय कारोवार सम्बन्धी कसूर मुद्दा दर्ता भएको र २०८० वैशाख २५ गते प्रहरी वृत्त महाराजगंजमा ठगी तथा अपराधिक लाभ सम्बन्धी कसूर मुद्दा समेत दर्ता भएको भन्ने अनुसन्धानको क्रममा खुल्न आएपश्चात निजहरूलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास गरी नेपाल फिर्ता ल्याई सम्बन्धित कसूरमा कानूनी कारवाही गराउनको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाबाट इन्टरपोलका सम्पूर्ण सदस्य राष्ट्रहरूलाई पत्राचार गरिएकोमा २०८१ असोज १ गते कम्बोडियाबाट दुवै जनालाई पक्राउ गरिएको र पक्राउमध्ये सुजनलाई नेपाल ल्याइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनलाई सम्बन्धित कसूरहरूमा कानून बमोजिम कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।
