कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय सभा समक्ष माफी मागेकी छन्।
बिहिबार बसेको सभाको बैठकमा समय माग गरेर बोल्दै मन्त्री गौतमले आफ्नो अभिव्यक्तिका कारण चित्त दुखेको भन्दै क्षमा मागेकी हुन्।
"मेरो आशय त्यस्तो थिएन, सञ्चार माध्यममा तोडमोड गरेर त्यसरी पस्किए। मैले बोलेका कुराहरूले यहाँहरूको हृदयमा चोट परेको भए म दुःख व्यक्त गर्न चाहन्छु र आगामी दिनमा सतर्क हुन्छु। मैले बोलेका कुराहरूले यहाँहरूलाई चोट परेको छ भने म त्यसमा क्षमाप्रार्थी छु," मन्त्री गौतमले भनिन्।
यस्तो थियो राष्ट्रिय सभाको भूमिकामाथि सोबिताले दिएको विवादास्पद अभिव्यक्ति:
यसअघि मन्त्री गौतमले 'जेनजी सहिद स्मृति दिवस'का अवसरमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपस्थिति नहुँदा कानून निर्माणमा असहजता भएको बताएकी थिइन्।
"प्रतिनिधि सभामा तपाईंहरूले छानेका निर्वाचित सांसदहरू हुनुहुन्छ। अरू ठाउँमा को हुनुहुन्छ, कसले सहयोग गर्नुभएको छ, कसले गर्नुभएको छैन, तपाईंहरूले मूल्याङ्कन गरिरहनुभएकै होला। सरकारका अप्ठ्याराहरू पनि तपाईंहरूले हेरिरहनुभएकै होला। एक दिन पक्कै आउनेछ, तपाईंहरूले छान्नुभएका नेताहरू ती सबै ठाउँमा हुनुहुनेछ र तपाईंहरूले चाहेजस्तै कानून निर्माणको यात्रा सजिलो हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु।" कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सोबिताले भनेकी थिइन ।
राष्ट्रिय सभा सांसदहरूको आपत्ति र गौतमलाई चुनौती:
सोबिता गौतमले जेनजी सहिदका परिवारका अगाडि आफ्नो असक्षमता लुकाउन झुटो बोलेको भन्दै राष्ट्रिय सभाका सांसदहरूले कडा आपत्ति जनाएका थिए।
सांसदहरूले राष्ट्रिय सभाले कुन चाहिँ विधेयक रोकेको हो, त्यसको तथ्यसहित आउन मन्त्री गौतमलाई चुनौती दिएका थिए। राष्ट्रिय सभाका सांसदहरूको उक्त चुनौतीपछि रोकिएको विधेयकको प्रमाण देखाउन नसकेपछि मन्त्री गौतमले आज राष्ट्रिय सभामा पुगेर माफी माग्दै आगामी दिनमा सतर्क रहने प्रतिबद्धता जनाइन ।
स्पष्टीकरणकै क्रममा सोबिताले बोलीन अर्को झुट:
सम्बोधनका क्रममा उनले आफू राजनीतिक व्यक्ति भएको र सञ्चार माध्यम तथा राजनीतिक विश्लेषकहरूले सप्रसङ्ग व्याख्या गरेर फरक अर्थ लगाई सामाजिक सञ्जालमा सम्प्रेषण गरिदिएको आरोप लगाइन ।
साथै, उनले जेनजी स्मृति दिवसको सम्बोधनका क्रममा राष्ट्रिय सभालाई कुनै दोष नदिएको दाबी गरिन । सो क्रममा मन्त्री गौतमले राष्ट्रिय सभाका सांसदहरूले जेनजी सम्बन्धी विधेयक ल्याउन र आफूहरूले पास गरेर पठाउने प्रतिबद्धता जनाएको भन्दै उनीहरूलाई धन्यवाद समेत व्यक्त गरिन्।
सांसद रेनु चन्दको कडा प्रहार, जसले पार्यो सोबितालाई माफी माग्न बाध्य:
राष्ट्रिय सभा बैठकमा नेकपाकी सांसद रेनु चन्दले मन्त्री गौतमको कदमको तीव्र विरोध गर्दै उनलाई माफी माग्न बाध्य पारेकी थिइन्।
रेनु चन्दले भनिन्, "सक्नुहुन्न भने छोड्दिनुस्, यो कुर्सीको त्यति धेरै माया गर्नु पर्दैन। म अस्ति ओलीजीको सरकार छँदा भनेको कुरा पुनः दोहोर्याउन चाहन्छ । 'यो कुर्सी है, तुम्हारी नाजायज तो नही है, कुझ कर नही सकते तो उतर क्यु नही जाते ?' हामीलाई किन ब्लेम लगाउने ? यहाँ आएर भन्नुपर्यो हामीले कुन कानून रोक्यौँ? कुन फिर्ता गर्यौँ ?"
उनले अगाडि थपिन्, "अध्यादेशबाट कानून ल्याउने तपाईं, २४ घण्टाभित्र ४ वटा कानून फिर्ता गर्न लगाउने तपाईं, अनि जनताले कानून बनाउन सकेन भन्दाखेरि राष्ट्रिय सभाले बनाउन दिएन भनेर झुट बोल्ने छुट तपाईंहरूलाई छैन। झुट बोल्न पाइँदैन! हामी न्युट्रल सभा हौँ, हाम्रै दलको सरकार हुँदा पनि विधेयक फिर्ता पठाएको सभा हौँ। आफ्नो असक्षमताको भारी राष्ट्रिय सभालाई नबोकाउनुस्।"
सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै चन्दले भनिन्, "देशमा ग्यासको लाइन छ, दैनिक उपभोग्य सामानको महँगी बढ्दो छ। अनि तपाईंहरू धर्मका नाममा ठगी गर्नेहरू र धार्मिक दङ्गा फैलाउनेहरूलाई प्रसय दिँदै जेनजी दिवसको दिन घाइते र अपाङ्गहरूको अपमान गर्दै हुनुहुन्छ? ग्यास दिन तपाईंहरूलाई राष्ट्रिय सभाले रोकेको हो ? जेनजी घाइतेलाई क्षतिपूर्ति दिन तपाईंलाई राष्ट्रिय सभाले रोक्यो ? जेनजीसँग भएको सम्झौता कार्यान्वयन गर्ने कानून ल्याउनुस्, हामी तुरुन्तै पास गरिदिन्छौँ। त्यो नल्याउने अनि आफ्नो असक्षमता लुकाउन झुट बोल्ने ? तपाईंको असक्षमता हामीमाथि नथोपर्नुस्।"
