काठमाडौं, १३ असार: स्वास्थ्य प्रणालीको मुख्य आधारस्तम्भका रूपमा रहेका नर्सिङ तथा मिडवाइफ्री जनशक्तिको पेसागत हकहित, सेवा सुविधा र गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितताका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसमक्ष १५ बुँदे मागपत्र पेस गरिएको छ। नर्सिङ अभियन्ता ज्योति रानाभाटद्वारा मन्त्रीज्यूलाई सम्बोधन गरी बुझाइएको उक्त ज्ञापनपत्रमा लामो समयदेखि यो क्षेत्रले भोग्दै आएका समस्याहरू समाधान गर्न जोडदार माग गरिएको छ।
पत्रमा न्यून पारिश्रमिक, असुरक्षित रोजगारी, विभेदकारी कानुन, अपर्याप्त दरबन्दी र सीमित नेतृत्व अवसरका कारण दक्ष जनशक्ति विदेश पलायन भइरहेकोप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।
प्रमुख मागहरू: उचित पारिश्रमिक र सेवा-सुविधा: सरकारी, निजी, सामुदायिक तथा शिक्षण अस्पतालहरूमा कार्यरत सम्पूर्ण नर्सिङ तथा मिडवाइफ्री जनशक्तिलाई योग्यता र जिम्मेवारी अनुसार नेपाल सरकारको भन्दा कम नहुने गरी न्यूनतम पारिश्रमिक, भत्ता र सेवा-सुविधा कानुनी रूपमै सुनिश्चित गरिनुपर्ने।
वैज्ञानिक दरबन्दी र पद सिर्जना: नर्स/मिडवाइफ र बिरामीको वैज्ञानिक अनुपात (Nurse/Midwife-to-Patient Ratio) अनुसार दरबन्दी सिर्जना गर्ने र Specialist Nurse, Nurse Practitioner जस्ता नयाँ पदहरू स्थापना गरिनुपर्ने।
विभेदकारी कानुन र करार प्रथाको अन्त्य: पेसागत विभेदकारी व्यवस्थाहरू संशोधन गरी समान अवसर र पदोन्नतिको व्यवस्था गर्ने तथा लामो समयसम्म करारमा राख्ने परिपाटी अन्त्य गरिनुपर्ने।
जोखिम भत्ता र बिदाको व्यवस्था: सार्वजनिक बिदा, रात्रिकालीन सेवा तथा ICU, NICU, Emergency, OT जस्ता उच्च जोखिमयुक्त विभागमा काम गरेबापत कम्तीमा २५ प्रतिशत जोखिम भत्ता र अतिरिक्त कार्यको उचित पारिश्रमिक उपलब्ध गराइनुपर्ने।
छात्रवृत्ति र शैक्षिक सुधार: राज्यको लगानीमा उत्पादित जनशक्तिको प्रभावकारी उपयोगका लागि स्पष्ट राष्ट्रिय मानव संसाधन नीति बनाउने र उच्च शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था गर्ने। लगायत १५ बुदे मागहरू रहेका छन् ।
मागपत्रमा यी सुधारहरू केवल नर्सिङ पेसाको हितका लागि मात्र नभई सम्पूर्ण नेपाली नागरिकको सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने मौलिक अधिकारसँग प्रत्यक्ष जोडिएको उल्लेख छ।
तोकिएको समयभित्र यी मागहरू उच्च प्राथमिकताका साथ सम्बोधन नभएमा नेपालको संविधानले प्रत्याभूत गरेको अधिकार प्रयोग गर्दै आगामी २०८३ साल साउन १४ गतेदेखि नेपाल नर्सिङ परिषद्को कार्यालय परिसरमा सत्याग्रह सुरु गर्ने कडा चेतावनी दिइएको छ।
हेर्नुहोस मागहरू :-








