हेटौंडा । ८ किलो सुनसहित हेटौंडाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय हेटौंडाले हेटौंडा– १५ रातामाटेबाट ८ किलो ४३.९७ ग्राम सुन बरामद गरिनुको साथै दुई जनालाई नियन्त्रणमा लिइएको जनाएको छ । पक्राउ पर्नेहरुमा भारतको महाराष्ट्रस्थित सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने ३५ वर्षीय अभिषेक अजिनाथ कुटी र सोही स्थान बस्ने २७ वर्षीय राहुत भिट्टिहाल रहेका छन् ।
विशेष सूचनाका आधारमा आज बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालयबाट खटिएको प्रहरी टोलीले हेटौंडा– १५ रातामाटे चेक पोष्ट स्थित पूर्वपश्चिम सडक–खण्डमा भारतको पथलैयाँबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश– ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त सुन फेला परी बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद गरिएको ८ किलो ४३.९७ ग्राम सुनको हालको बजार मुल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा रहेको छ । शंका गरी स्कुटरलाई चेकजाँच गर्दा उनीहरुले शरीरका विभिन्न ठाउँमा टेपको सहायताले बाँधेर, रुमालले लुकाएर सुन ल्याएको फेला परेको मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।
प्रहरी प्रमुख खड्काका अनुसार उनीहरुले उक्त सुन काठमाडौंको गौशाला बुझाउ जान लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । बरामद भएको सुन र पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।
