झापा । झापामा एक १६ वर्षीया नाबालिका बलात्कृत भएकी छन् । ती नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६ जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका– ९ बस्ने १९ वर्षीय अनिश लिम्बु, सोही नगरपालिका– ८ बस्ने ३४ वर्षीय सरोज राई, २५ वर्षीय केशव मगर, १९ वर्षीय सुनिल राजवंशी, १९ वर्षीय सुदिप श्रेष्ठ र १९ वर्षीय सुजन डाँगी रहेका छन् ।
अनिश, सरोज र केशवले ती नाबालिकालाई अर्जुनधारा नगरपालिका– ८ नयाँ बजारस्थित बाख्रा हटिया लाग्ने स्थानको फलैचामा जबरजस्ती करणी गरेको र सुनिल, सुदिप, सुजन र २० वर्षीय संजीव तामाङले अर्जुनधारा नगरपालिका– ७ स्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार घटनामा संलग्न संजिव भने फरार रहेका छन् । हाल फरार रहेका संजिवको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
