विराटनगर । कोशी अस्पताल भर्ना भएका एक जना कैदी फरार भएका छन् ।
फारार हुनेमा जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका २४ वर्षीया आर्यान मोहम्मद अहमद खान भनिने मोहमद अहदमत कोशी अस्पतालबाट फरार भएका हुन् । विराटनगर महानगरपालिका– ८ निवासी मोहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी हुन् ।
उनलाई पेट दुख्ने समस्याका कारण बिरामी परेपछि उनलाई कोशी अस्पताल भर्ना गरिएको कारागारका निमित्त जेलर तुल्सी पौडेलले जानकारी दिए । अस्पतालमा भर्ना भएका मोहमदले शौचालय जाने बहानामा अस्पतालमा खडिएका प्रहरी सुरक्षाकर्मीलाई धकेलेर लडाएर फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी आज बिहान करिब सवा ५ बजेतिर अस्पतालबाट फरार भएका हुन् । फरार भएका उनको खोजी कार्य भैरहेको र भारतर्फ भाग्न सक्ने सम्भावनालाई मध्यनजर गरेर नेपाल–भारत सीममा निगरानी बढाइएको छ ।
जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका मोहमदलाई २०७९ फागुन २१ गते जिल्ला अदालत मोरङले १२ वर्ष कैद सजाय र ५ लाख जरिवानाको फैसला गरेको थियो ।
