चीनको फुदान विश्वविद्यालयका प्राध्यापक झाङ जियाडोङले नेपालको वर्तमान आर्थिक तथा सामाजिक अवस्थालाई करिब तीन दशकअघिको चीनसँग तुलना गर्दै विकासका लागि नयाँ सोच, प्रभावकारी सरकार, आर्थिक कूटनीति र डिजिटल अर्थतन्त्रमा सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१ औँ वर्षका अवसरमा अगस्ट ९, २०२६ मा आयोजित संवादमा बोल्दै दक्षिण एसिया अध्ययन केन्द्रका निर्देशकसमेत रहेका झाङले नेपालमा विकासको ठूलो सम्भावना रहेको उल्लेख गरे। उनले नेपालको जनसांख्यिक संरचना, नयाँ सरकार र विकासको प्रारम्भिक चरणमा रहेको अर्थतन्त्रलाई यसको प्रमुख आधारका रूपमा व्याख्या गरे।
झाङका अनुसार नेपालमा देखिएको ‘युवापन’ तीन क्षेत्रमा स्पष्ट छ । युवा जनसंख्या, नयाँ सरकार र युवा अर्थतन्त्र। औद्योगिकीकरणको लामो चरण पार नगरेका कारण नेपालको अर्थतन्त्र अझै विस्तार र रूपान्तरणका लागि पर्याप्त सम्भावनायुक्त रहेको उनको भनाइ थियो। उनले सम्भावना मात्र पर्याप्त नहुने भन्दै त्यसलाई वास्तविक आर्थिक क्षमतामा रूपान्तरण गर्न पूर्वी एसियाली मुलुक, विशेषगरी चीनको विकास अनुभवबाट नेपालले सिक्न सक्ने बताए।
झाङले आर्थिक विकासका लागि तीन प्रमुख आधार आवश्यक रहेको उल्लेख गरे।
पहिलो, सक्रिय, स्थिर र प्रभावकारी सरकार; दोस्रो, अनुकूल अन्तर्राष्ट्रिय वातावरण; र तेस्रो, अन्तर्राष्ट्रिय आर्थिक स्रोत तथा अवसरसँग सक्रिय रूपमा जोडिने नीति। नेपालले दुई ठूला छिमेकी चीन र भारतसँग सन्तुलित तथा मैत्रीपूर्ण सम्बन्ध कायम गर्न सके विकासका लागि अनुकूल अन्तर्राष्ट्रिय वातावरण निर्माण हुने उनको धारणा थियो।
उनले नेपालको आर्थिक विकासमा राजनीतिक तथा रणनीतिक विषयभन्दा आर्थिक कूटनीति र जनस्तरको सम्बन्धलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। चीनको विकास अनुभव उल्लेख गर्दै झाङले सन् १९७९ आसपास चीनको सोचमा आएको परिवर्तनलाई महत्वपूर्ण मोडका रूपमा प्रस्तुत गरे।
उनका अनुसार चीनले बाह्य विश्वलाई जोखिमका रूपमा मात्र हेर्ने दृष्टिकोणबाट अवसर र विकासको स्रोतका रूपमा हेर्ने सोचमा परिवर्तन गरेपछि आर्थिक विकासको नयाँ बाटो खुलेको थियो। उनले चीनले समाजवादी राजनीतिक प्रणालीसँग बजार अर्थतन्त्रलाई संयोजन गर्दै नयाँ विकास मोडल अघि सारेको र त्यसको व्यवहारिक सफलताले चीनको रूपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको बताए।
नेपालले पनि आफ्नै परिस्थितिअनुकूल नयाँ सोच र विकासको मोडल निर्माण गर्नुपर्ने उनको सुझाव थियो। झाङले विकासका अवसर गुमाउँदा देश दशकौँ पछाडि पर्न सक्ने चेतावनीसमेत दिए।
अहिले विश्व अर्थतन्त्र तीव्र रूपमा डिजिटल हुँदै गएकाले नेपालजस्ता मुलुकले डिजिटल अर्थतन्त्रमा ‘लीपफ्रग’ गर्न सक्ने अवसर रहेको उनले बताए।
नेपालका लागि पाँच सुझाव झाङले नेपालका लागि आर्थिक विकाससम्बन्धी पाँच प्रमुख सुझाव दिएका छन्।
पहिलो : आर्थिक विकासका लागि राष्ट्रिय सहमति निर्माण गर्ने संयन्त्र आवश्यक रहेको उनले बताए। विस्तृत नियन्त्रणमुखी योजना नभई राष्ट्रिय प्राथमिकता र साझा लक्ष्यमा समाजका विभिन्न पक्षलाई एकताबद्ध गर्ने विकासको दिशालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
दोस्रो: जलविद्युत्लाई रणनीतिक आधार उद्योगका रूपमा विकास गर्नुपर्ने उनले बताए। हरित ऊर्जा र हरित अर्थतन्त्रको विश्वव्यापी महत्व बढिरहेको अवस्थामा नेपालसँग रहेको विशाल जलविद्युत् सम्भावनाले उत्पादनमूलक उद्योगको विस्तारमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको धारणा थियो।
तेस्रो : नेपालको युवा जनसंख्याबाट प्राप्त हुने जनसांख्यिक लाभलाई दक्ष जनशक्ति र मानव पुँजीमा रूपान्तरण गर्नुपर्ने उनले बताए।
चौथो : आर्थिक कूटनीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै झाङले अन्तर्राष्ट्रिय राजनीतिक तथा रणनीतिक विषयमा अत्यधिक केन्द्रित हुनुभन्दा आर्थिक तथा जनस्तरीय आदानप्रदानलाई अघि बढाउनुपर्ने बताए।
पाँचौँ : नेपालले डिजिटल प्रविधि र डिजिटल अर्थतन्त्रमा छलाङ मार्नुपर्ने उनको सुझाव थियो। डिजिटल कनेक्टिभिटीले भौगोलिक सीमा, भाषा, जातीय तथा धार्मिक विभाजनलाई पार गर्दै नेपाललाई विश्व अर्थतन्त्रसँग जोड्न सक्ने उनले बताए।
समापनमा झाङले नेपालले स्थिर विकास हासिल गर्दै उज्ज्वल भविष्यतर्फ अघि बढ्ने विश्वास व्यक्त गरे। उनले नेपालको वर्तमान अवस्थालाई विकासको महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका थिए।
प्राध्यापक झाङ जियाडोङ फुदान विश्वविद्यालयको दक्षिण एसिया अध्ययन केन्द्रका निर्देशक, बीआरआई रणनीति तथा अन्तर्राष्ट्रिय सुरक्षा विभागका डिन तथा अमेरिकी अध्ययन केन्द्रका वरिष्ठ अनुसन्धानकर्ता हुन्। उनको अनुसन्धानको मुख्य क्षेत्र दक्षिण एसियाली भूराजनीति, बेल्ट एन्ड रोड इनिसिएटिभको सुरक्षा, अमेरिकी अध्ययन तथा आतंकवादविरोधी विषयमा केन्द्रित छ।
