काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीलाई बयानका लागि काठमाडौं ल्याइएको छ ।
स्वर्णलक्ष्मी बहुउद्देशीय सहकारीको रकम अपचलन प्रकरणमा संलग्नताबारे उनलाई अनुसन्धान गर्न मंगलबार साँझ काठमाडौं ल्याइएको हो । बयानका लागि काठमाडौं ल्याइएका जोशीलाई जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देशीय सहकारीको रकम अपचलन प्रकरणमा उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई आज बयानका लागि काठमाडौं ल्याइएको हो । जोशीसँग भोली बुधवारबाट बयान लिने प्रहरीको तयारी छ ।
पूर्वडिआइजी जोशी गोरखा मिडियाका सञ्चालक हुन् । स्वर्णलक्ष्मी सहकारी प्रकरणमा जोशी र रास्वपा सभापति रवि लामिछानेसहित २१ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जोशी असोज ६ र रवि लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् ।
उनीहरुमाथि पोखराको सूर्यदर्शन सहकारी र बुटवलको सुप्रीम सहकारीको रकम अपचलनमा संलग्नताको विषयमा अनुसन्धान भैरहेको छ ।
