काठमाडौं । संसदीय सुनुवाई समितिले न्यायपरिषद् सदस्यमा सिफारिस भएका दामोदर खड्काको नाम सर्वसम्मतीले अनुमोदन गरेको छ ।
समितिको आइतबार बसेको बैठकले न्यायपरिषद्को सदस्यमा सिफारिस खड्काको अनुभव तथा कार्ययोजना सुनेपछि सर्वसम्मतीले अनुमोदन गर्ने निर्णय गरेको हो । न्यायपरिषद्को पुस २९ को पत्रअनुसार सिफारिस भएका खड्कालाई न्यायपरिषद्को सदस्यमा सर्वसम्मतीले अनुमोदन गर्ने निर्णय भएको समिति सभापति इश्वरी खड्काले जानकारी दिइन् ।
उनले भनिन्, “संसदीय सुनुवाइ समितिको बैठकले न्यायपरिषद्को सदस्यको कार्ययोजनामा समितिले आफ्ना धारणा सुनेर सदस्यहरुले जिज्ञासा राख्नु भयो । त्यो प्रष्ट भैसकेपछि समितिले अनुमोदन गर्ने निर्णय गरेको छ ।”
खड्का नेपाल बार एशोसियशनको तर्फबाट न्यायपरिषद् सदस्यमा सिफारिस भएका हुन् । संसदीय सुनुवाइबाट उनको नाम अनुमोदन भएसँगै अब नियुक्ति प्रक्रिया अगाडी बढ्नेछ ।
