मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

राजनीति

हरित अभियान, प्रकृति संरक्षणमा ड्रुक्पा परम्पराको योगदान प्रशंसनीय छ : अध्यक्ष दाहाल

हरित अभियान, प्रकृति संरक्षणमा ड्रुक्पा परम्पराको योगदान प्रशंसनीय छ : अध्यक्ष दाहाल

ड्रुक्पा परम्पराले अघि सारेका प्रयासबाट सकारात्मक प्रभाव परेको

शनिबार, पुस १३ २०८१
शनिबार, पुस १३ २०८१
  • काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले जलवायु परिवर्तन र वातावरणीय सङ्कटको चुनौतीपूर्ण समयमा ड्रुक्पा परम्पराले देखाएको हरित अभियान र प्राकृतिक स्रोतको दिगो उपयोगसम्बन्धी योगदान प्रशंसनीय रहेको बताउनु भएको छ। ड्रुक अमिताभ माउन्टेन (ह्वाइट गुम्बा)मा आजदेखि सुरु भएको दसौँ वार्षिक ड्रुक्पा काउन्सिललाई सम्बोधन गर्दै उहाँले ड्रुक्पा परम्पराले अघि सारेका प्रयासबाट सकारात्मक प्रभाव परेको बताउनु भएको हो।

    “नेपालजस्तै हिमाली देशका लागि पनि यस्ता अभियान विशेष महत्वका छन्, धार्मिक सहिष्णुता, आन्तरिक शान्ति र मानवताका लागि समर्पित जीवन जीउने प्रेरणाका लागि ड्रुक्पा परम्पराको योगदान विशेष रहेको छ”, अध्यक्ष दाहालले भन्नुभयो। उहाँले लैङ्गिक समानताको प्रवर्द्धन, पदयात्रा र साइकल यात्रामार्फत् वातावरणीय अनुकूल र दिगो जीवनशैलीप्रति सचेतना जगाउने, सरसफाइ अभियान आयोजना र सबै प्राणीको हितका कार्यमा ड्रुक्पा परम्पराको सक्रिय सहभागिता प्रशंसनीय रहेको बताउनु भयो।

    अध्यक्ष दाहालले दसौँ वर्षमा प्रवेश गरेको वार्षिक ड्रुक्पा परिषद् ड्रुक्पा परम्पराको समृद्ध विरासत र यसको विश्वव्यापी प्रभावको उत्सवका रूपमा रहेको बताउनु भयो। उहाँले परिषद् विभिन्न पृष्ठभूमिका मानिसलाई एकसाथ ल्याउने, सम्बन्ध गाँस्ने र प्रेरणा लिने मञ्च बनेको बताउनु भयो। ड्रुक्पा परम्पराले विश्वभरि शान्ति, सहिष्णुता र दयाभावको सन्देश फैलाउँदै आएको उल्लेख गर्दै अध्यक्ष दाहालले यस परम्पराले आफ्नो धार्मिक शिक्षाबाट मात्र नभई पर्यावरणीय संरक्षण, सामाजिक सेवाभाव र मानव कल्याणको भावना संसारभरि फैलाउन भूमिका खेलेको बताउनु भयो।

    “यो सभाले ड्रुक्पा समुदाय र यससँग सम्बद्ध सम्पूर्ण अनुयायीका लागि आगामी कार्यक्रमका साथै मार्गदर्शन गर्नेछ”, उहाँले भन्नुभयो, “धार्मिक शिक्षा र अभ्यासलाई प्रोत्साहित गर्ने मात्र नभई यस सभाले आधुनिक समाजका चुनौतीसँग जुध्न सक्ने व्यावहारिक समाधानका उपाय पनि प्रस्तुत गर्नेछ।” सो अवसरमा ड्रुक्पा वंश, यात्रा र ड्रुक्पा योगी तथा गुरुका बारेमा जानकारीमूलक भिडियो प्रस्तुत गरिएको थियो। समारोहमा विभिन्न मुलुकबाट सहभागी ड्रुक्पा अनुयायीले सांस्कृतिक प्रस्तुति दिएका थिए।

    पाँच दिनसम्म चल्ने सो कार्यक्रममा पवित्र ड्रम अनुष्ठान प्रदर्शन, आध्यात्मिक शिक्षाको आदानप्रदान, आत्मरक्षा, मानव बेचबिखनविरूद्धको सचेतना र दिगो जीवनशैलीका विषयमा कार्यशाला आयोजना हुने बताइएको छ। साथै ग्यालवाङ ड्रुक्पा, ग्यालवाङ दोखाम्पा र क्याब्जे ड्रुपबोन खम्टाक रिन्पोचेलगायतले धर्म, परोपकार र पर्यावरणीय नैतिकतालगायत विषयमा प्रवचन दिनेछन्।

    कार्यक्रममा ड्रुक्पा परम्पराका गुरु ग्यालवाङ ड्रुक्पा रेन्पोछे, भुटानका राजपरिवारका सदस्य र आफन्तजन, विभिन्न मुलुकबाट आएका ड्रुक्पा परम्पराका सदस्य, आध्यात्मिक गुरु, विद्यार्थीलगायत तीन हजारभन्दा बढीको सहभागिता रहेको ह्वाइट गुम्बाका प्रवक्ता जिग्मे याङ्गचेन गामोले जानकारी दिनुभयो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार