पोखरा । हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको अनाधिकृत फोटो खिचेको आरोपमा पक्राउ परेका निकोलस भुसाल रिहा भएका छन् ।
पक्राउ परेका भुसाललाई प्रहरीले म्याद थपका लागि आज जिल्ला अदालत कास्कीमा उपस्थित गराएको थियो । जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले निकोलसविरुद्ध म्याद थप गर्न अस्वीकार गर्दै रिहा गर्न आदेश दिएको हो ।
अदालतको आदेशसँगै भुसाल रिहा भएका छन् । लामिछानेको हिरासत भित्रको फोटो खिचेर सार्वजनिक गरेपछि उनलाई प्रहरीले आइतबार काठमाडौंको थलीबाट पक्राउ गरेको थियो ।
अदालतले हिरासत बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएपछि भुसाललाई छाडिएको कास्की प्रहरीका एक अधिकारीले जानकारी दिए ।
