काठमाडौं । नेकपा ( माओवादी केन्द्र) का सांसद माधव सापकोटा (सुबोध) ले एकतावद्ध भएर विपदको सामना गर्नुपर्ने बताएका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस जारी गर्दै सांसद सापकोटाले विपद्को बेला भोटको राजनीति नगर्न आग्रह गरेका छन् ।
हामीले सामना गर्ने विपत्तिहरूमा खोज, उद्धार, घाइतेहरुको, उपचार, मृतकहरुको व्यवस्थापन, घरवारविहिनहरुको अस्थायी बसोबासबाट शुरू भएर पुनर्स्थापना र दीर्घकालीन पुन:र्निर्माणको चरणबद्ध योजना सञ्चालन हुने सांसद सापकोटाको भनाई रहेको छ ।
यही असोज ११ र १२ गतेको भीषण वर्षाले सिन्धुपाल्चोकलाई समेत ठूलो मानवीय र भौतिक क्षति बेहोर्न बाध्य बनाएको भन्दै सांसद सापकोटाले धुलिखेलदेखि अवरुद्ध भएको अरनिको लोकमार्गलाई पुनःसञ्चालन गर्दै विपद् स्थलसम्महरुसम्मको एकतर्फी मार्ग खोलेर खोज, उद्धार, राहत, अस्थायी बसोबास र शव व्यवस्थापनका लागि गरिएको पहलले ठूलो महत्व राखेको बताएका छन् ।
बिग्रिएको बिजुली र टेलिफोन सेवा पुनः सुचारु गर्दा स्थानीय जनतामा ठूलो राहत मिलेको भन्दै उनले तत्कालिक काम सकेर अल्पकालिक कार्यका लागि समन्वय जारी रहेको बताएका छन् ।
विपदका् अति आवश्यक समयमा जनताबीच नदेखिएकाहरु केहि दिन यता तातोपानी क्षेत्रमा फोटो भिडियोसहित अस्वाभाविक स्टन्टबाजीमा देखिएको भन्दै सांसद सापकोटाले विपद्को बेला भोटको राजनीति नगर्न आग्रह गरेका छन् ।
सांसद सापकोटाले लेखेका छन्, "तातोपानी देशकै महत्वपूर्ण नाका हो । यसको महत्व र गाम्भिर्यतालाई मनन् गर्नै पर्दछ । विपदका् अति आवश्यक समयमा जनताबीच नदेखिएकाहरु केहि दिन यता तातोपानी क्षेत्रमा फोटो भिडियोसहित अस्वाभाविक स्टन्टबाजीमा देखिएका छन् । हाम्रो आग्रह छ, विपद्को बेला भोटको राजनीति नगरौं, यसले पीडितहरुलाई थप पीडा दिने छ । इमानदारहरुको परिक्षा कर्तव्य पालनामा हुन्छ । सबैले कर्तव्य पालना गरौं । जनप्रतिनिधि, राजनीतिक दल, प्रशासनिक संयन्त्र, नागरिक समाज एवं सम्बद्ध पक्षहरु एकतावद्ध भएर विपदको सामना गरौं । सहजता सृजना गरौं ।"
