काठमाडौं । डा. चन्द्रकान्त (सिके) राउत नेतृत्वको जनमत पार्टीले ४ जना केन्द्रीय सदस्यसहित ८ जना नेतासँग स्पष्टिकरण माग गरेको छ ।
असोज ५ मा जिल्ला समन्वय समिति जलेश्वर, महोत्तरीको हलमा भएको पार्टीको प्रशिक्षण तथा शुभकामना आदान–प्रदान कार्यक्रम बिथोल्न हो–हल्ला गरेको, गुटबन्दी तथा भाडभैलो गर्नुको साथै पार्टीको अहित हुने लगायतका गतिविधि गरेको भन्दै जनमतले उनीहरुलाई स्पष्टिकरण माग गरेको हो ।
स्पष्टिकरण माग गरिएका केन्द्रीय सदस्यहरुमा दीपेन्द्र मधेशी, कोमल यादव, इन्द्रप्रसाद सिंह र सुरेश ठाकुर रहेका छन् । त्यस्तै पालिका सचिव सञ्जित यादव, साधारण सदस्यहरु सन्तोष कुमार यादव, सिंहेश्वर मण्डल र रामकुमार शाह सँग स्पष्टिकरण माग गरिएको छ ।
जनमतका उपाध्यक्ष दिपक कुमार शाहद्धारा जारी स्पष्टिकरण पत्रमा उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही किन गर्नु नपर्ने हो भन्नेमा ७ दिन भित्र स्पष्टिकरण दिन निर्देशन दिइएको छ ।
