सरकारले रसुवा–भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरेको हो।
समितिमा संघीय तथा स्थानीय तहका अधिकारी, भूमि प्रशासन र नापी कार्यालयका प्रमुखसहित सुरक्षा निकायका प्रतिनिधि सदस्य छन्।
समितिले बाढीका कारण विस्थापित भएका तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका परिवारको विवरण संकलन गरी पुनःस्थापनाका लागि उपयुक्त जग्गा पहिचान गर्नेछ।
पहिचान भएका स्थानको स्थलगत अध्ययन गरी बाढी तथा पहिरोको जोखिम, भौगोलिक अवस्था, बसोबासको उपयुक्तता र आवश्यक पूर्वाधारबारे प्रारम्भिक मूल्याङ्कन गरिने मन्त्रालयले जनाएको छ।
समितिले अध्ययनपछि सुरक्षित पुनःस्थापना तथा अस्थायी बसोबासका लागि आवश्यक सुझाव र सिफारिससहित मन्त्रालयमा प्रतिवेदन बुझाउनेछ।
सरकारले बाढीपीडितको पुनःस्थापना प्रक्रिया यथाशीघ्र अघि बढाउने लक्ष्य लिएको छ।
