काठमाडौं । रामेछापको शैलुङ्ग गाउँपालिका ३ लेखर्क पहरीगाउँमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । स्थानीयका अनुसार अझै चार जना हराइरहेका छन् । उनीहरुको खोजीकार्य जारी छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेका अनुसार पहिरोमा परी ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरी, ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिने छोरा आयुष श्रेष्ठको मृत्यु भएको छ । श्रेष्ठकी ११ वर्षीया छोरी अञ्जना घाइते छिन् ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, टोकरपुर र दोरम्बाका प्रहरीहरु खोज तथा उद्धारमा परिचालित भएका छन् । गएरातिको पहिरोले शैलुङ गाउँपालिका वडा नम्बर २ र ३ जोड्ने अँधेरी खोलाको पक्की पुल पनि बगाएको छ ।
हरीका अनुसार आज बिहान ३ः३५ बजे पहिरोले गाउँमा क्षति पुर्याएको सूचना जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएको थियो । त्यसअघि नै टोकरपुर र दोरम्बाबाट प्रहरीको टोली घटनास्थल प्रस्थान गरेको थियो । तर बाटोमा पर्ने अँधेरी खोलाको पुल पनि भत्किएकाले प्रहरीहरु घटनास्थल पुग्न ढिलो भएको थियो ।
