काठमाडौं । छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएकी छन् ।
भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणामा आइतबार नयाँ दिल्ली प्रस्थान गरेकी राणाले सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री राणाले सोमबार नै समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्ने बताइएको छ । मन्त्रालय स्रोतका अनुसार भारतमा हुने द्धिपक्षीय भेटवार्तामा दुई देशको आपसी हित, सहकार्यका विषयमा छलफल हुने जनाइएको छ ।
मन्त्री राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत र सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका उत्तरी महाशाखा प्रमुख अनुराग श्रीवास्तवले स्वागत गरेका थिए ।
परराष्ट्रमन्त्री भएपछि राणाको यो पहिलो विदेश भ्रमण हो । चार दिने औपचारिक भ्रमणमा आज भारत प्रस्थान गरेकी मन्त्री राणा बिहिवार नेपाल फर्किने छिन् ।
