काठमाडौं । महान्यायाधीवक्ताको कार्यालयले नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ ।
सांसद डा. शर्माविरुद्ध महान्यायाधीवक्ताको कार्यालयले शैक्षिक प्रमाणपत्रविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा नचलाउने निर्णय गरेको हो । यस अघि नेपाली कांग्रेससहित नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले डा. शर्माविरुद्ध शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ गरेको थियो ।
प्रचण्ड नेतृत्वको सरकारको समयमा शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरी अदालतमा पेश गरेको थियो । तर, अदालतले उनलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनी रिहा भएका थिए ।
महान्यायाधीवक्ता कार्यालयले केही दिन अघि डा. शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको प्रवक्ता सूर्यमणी दाहालले जानकारी दिए । उनलाई नवनियुक्त महान्यायाधीवक्ता रमेश बडालले जिल्ला र उच्च सरकारी वकिल कार्यालयले गरेको निर्णय सदर गरेका हुन् ।
