काठमाडौं । निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम विशेष संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ ।
सोमबार अपरान्ह्र बसेको संसदीय समितिको बैठकले प्रधानको नाम समितिबाट अस्वीकृत गर्ने निर्णय गरेको हो । बैठक बस्नु अघि सोमबार दिउँसो प्रधानले आफ्नो नाम फिर्ता लिएको पत्रमार्फत संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेलाई जानकारी गराएका थिए ।
प्रधानले नै नाम फिर्ता लिएपछि संसदीय सुनुवाई समितिको बैठकले आयुक्तमा उनको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो । आयुक्तमा प्रस्तावित प्रधानमाथि नेपाल कानुन समाजमा कार्यरत महिलामाथि यौन शोषण गरेको आरोप छ । पीडित महिलाले समितिमा उजुरी दिनुको साथै संसदीय सुनुवाइ समितिमा आएर नै बयान समेत दिएकी थिइन् ।
प्रधानले भने ती महिलासँगको विवाद अदालतमा मिलाइसकेको बयान दिएका थिए । पैसा दिएर अदालतमा दायर पत्र फिर्ता गर्न लगाई प्रधानले मिलापत्र गरेका थिए ।
प्रधानविरुद्धको यौन हिंसाको यस विषयले उनको चर्काे विरोध भएपछि प्रधान आफैले आज नाम फिर्ता लिएका थिए ।
