काठमाडौं । गत बुधवार काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना हुँदा ज्यान गुमाएका एकै परिवारका तीन जनाको अन्त्येष्टि गरिएको छ ।
सौर्य एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र ४ वर्षीय छोरा अधिराज शर्माको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुकी पूर्व नेतृसमेत रहेकी प्रिजा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सहायक कम्प्युटर अपरेटर थिइन् ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले अनेरास्ववियुकी पूर्व नेत्रृ प्रिजाको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली दिए । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लायत पार्टीका नेता तथा कार्यकर्ताहरु पशुपति पुगेर अन्तिम श्रद्धाञ्जली दिनुको साथै परिवारलाई सान्त्वना दिएका थिए ।
बुधवार भएको उक्त जहाज दुर्घटनामा एक विदेशी नागरिकसहित १८ जनाले ज्यान गुमाएका थिए ।
