दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् ।
केन्द्रमा सत्ता समिकरणमा फेरबदल भएसँगै नेकपा (माओवादी केन्द्र) ले फागुन २३ मा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री चौधरी अल्पमतमा परेका थिए । कुनै पनि राजनीतिक दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिन भित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
सोही बमोजिम मुख्यमन्त्री चौधरीले आज बहुमत जुटाउने तयारीका साथ प्रदेशसभाबाट विश्वासको मत लिनको लागि प्रदेशसभाको बैठक आह्वान गरेका थिए । तर बहुमत जुटाउन असफल भएपछि प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले राजीनामा घोषणा गरेका हुन् ।
चौधरीले राजीनामा दिएसँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ । सत्ता गठबन्धनको भागबण्डामा लुम्बिनीको नेतृत्व माओवादीले पाउने सहमति भएको छ । नयाँ सरकार गठनको लागि माओवादी केन्द्र अन्य दलहरुसँग छलफलमा जुटेको छ ।
केन्द्रमा सत्ता समिकरण फेरिएसँगै अन्य प्रदेशमा पनि त्यसको प्रभाव परेको छ । कांग्रेसले सरकारको नेतृत्व गरेको प्रदेशमा मुख्यमन्त्रीहरुले राजीनामा दिइरहेका छन् । त्यस्तै कर्णाली प्रदेशको नेतृत्व एमालेको भागमा परेपछि बुधवार कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका थिए ।
