सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन् ।
मुख्यमन्त्री शर्माले बुधवार प्रदेश प्रमुख तिलक परियार समक्ष राजीनामा बुझाएका हुन् । राजीनामा दिनु अघि उनले प्रदेशसभालाई सम्बोधन गर्दै पछिल्लो राजनीतिक परिस्थितिमा पदमा रहीरहन उपयुक्त नदेखिएको भन्दै पदबाट राजीनामा दिने बताएका थिए ।
मुख्यमन्त्री शर्माले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका थिए भने आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिने कार्यसूची समेत रहेको थियो । तर, केन्द्रमा कर्णालीको मुख्यमन्त्री एमालेको भागमा परेपछि माओवादीले मुख्यमन्त्री शर्मालाई राजीनामा दिन निर्देशन दिएको थियो ।
केन्द्रको निर्देशनपछि पनि आफूले विश्वासको मत लिएर मात्रै राजीनामा दिने अडान लिएका मुख्यमन्त्री शर्माले अन्ततः आज राजीनामा दिएका हुन् । शर्माले राजीनामा दिएसँगै कर्णालीमा अब एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यमलाल कँडेलको नेतृत्वमा सरकार बनाउने बाँटो खुलेको छ ।
