काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहणमा सहभागी हुन नयाँ दिल्ली जाने भएका छन् ।
भारतमा भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) ले बहुमत ल्याएपछि मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने तयारीमा छन् ।
भारतमा नयाँ सरकार गठनको लागि शुक्रबार एनडी गठबन्धनले दाबी पेश गर्ने जनाइएको छ । मोदीले नयाँ प्रधानमन्त्रीको रुपमा शनिबार शपथ लिने तयारी गरेको जनाइएको छ । सोही शपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डलाई निम्तो आइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
भारतको कार्यबाहक प्रधानमन्त्रीको रुपमा रहेका मोदीले प्रधानमन्त्री प्रचण्डसहित दक्षिण एसियाका विभिन्न देशका सरकार प्रमुखलाई समेत निम्तो दिइसकेका छन् । लोकसभा निर्वाचनमा भाजपा नेतृत्वको एनडीए गठबन्धनले बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री प्रचण्डले मोदीलाई टेलिफोन गरेर समेत बधाई दिएका थिए । सोही टेलिफोन कुराकानीमा मोदीले प्रचण्डलाई शपथमा आउन निम्तो दिएका थिए ।
यस अघि सन् २०१४ मा मोदीले पहिलो कार्यकालको लागि भारतीय प्रधानमन्त्रीको रुपमा शपथग्रहण गर्दा नेपालको तर्फबाट तत्कालीन प्रधानमन्त्री शुशिल कोइराला नयाँ दिल्ली गएका थिए ।
