एजेन्सी । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आम निर्वाचनको मिति घोषणा गरेका छन् ।
प्रधानमन्त्री सुनकले बुधवार राती लण्डनस्थित डाउनिङ्ग स्ट्रिटबाट आगामी जुलाई ४ मा बेलायतमा आम निर्वाचन हुने घोषणा गरेको बीबीसीले जनाएको छ । नियमित निर्वाचन तालिका अनुसार २०२५ मा निर्वाचन हुनुपर्नेमा प्रधानमन्त्री सुनकले भने ७ महिना अघि नै निर्वाचनको मिति घोषणा गरिदिएका हुन् ।
पानीमा भिज्दै निर्वाचनको मिति घोषणा गरेका सुनकले बेलायतका लागि आफ्नो भविष्य चुन्ने समय आएको बताए । बेलायतका राजा चाल्र्स तृतियलाई चुनावको मितिबारे जानकारी गराउनासाथ संसद भंग गरिनेछ ।
संसद भंगपछि चुनावी प्रक्रिया सुरु हुनेछ । बीबीसीका अनुसार सम्भवतः शुक्रबारदेखि चुनावी प्रक्रिया सुरु हुनेछ । २०२२ अक्टुबरमा सुनकले प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । नियमित निर्वाचन तालिका अनुसार बेलायतमा २०२५ जनवरीमा निर्वाचन हुने सम्भावना थियो ।
निर्वाचनको मिति घोषणाका लागि प्रधानमन्त्री सुनकलाई डिसेम्बर सम्मको समय थियो । तर, उनले बुधवार राती आम निर्वाचनको मिति जुलाई ४ लाई घोषणा गरे ।
