संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले गरेको सम्बोधन युट्युबमा सबभन्दा धेरै पटक हेरिएको छ ।
दुईदिन अघि महासभामा सम्बोधन गरेका शाहको सम्बोधन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा धेरै पटक हेरिएको छ ।
ट्रम्पभन्दा २ दिनपछि सम्बोधन गरेका शाहको सम्बोधन युट्युबमा हालसम्म ४ लाख ५२ हजार ५५२ पटक हेरिएको छ । हालसम्म शाहको भाषणमा २५ हजारले लाइक गरेका छन् भने ३८ सयले कमेन्ट गरेका छन् ।
त्यस्तै दोस्रो नम्बरमा इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति मसुद पेजेस्कियनले संयुक्त राष्ट्रसंघको महासभमा गरेको सम्बोधन हेरिएको छ । पेजेस्किएनको सम्बोधन युट्युबमा हालसम्म ४ लाख १२ हजार १२१ जनाले हेरेका छन् ।
पेजेस्किएनले ट्रम्पभन्दा एक दिन पछि र बालेन्द्र भन्दा एकदिन अघि सम्बोधन गरेका थिए । उनको सम्बोधनमा ६ हजार ९ सयले लाइक र १४ सयले कमेन्ट गरेका छन् ।
महासभामा पहिलो दिन सम्बोधन गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषण हालसम्म ३ लाख ८० हजार १४८ पटक हेरिएको छ भने ४ हजार ५ सयले लाइक तथा १ हजार ५ सयले कमेन्ट गरेका छन् ।
त्यस्तै चौथो नम्बरमा टर्की गणराज्यका राष्ट्रपति रेसेप तैयप एर्दोगानको सम्बोधन हेरिएको छ । हाल्सम्म युट्युबमा एर्दोगानको सम्बोधन २ लाख २९ हजार ४१० पटक हेरिएको छ ।
कान्छो प्रधानमन्त्रीका रुपमा संयुक्त राष्ट्र संघको महासभामा सहभागी भएका प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु संकटदेखी विश्वव्यापी असमानता सम्मका विषय उठाएका थिए ।
