पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, प्रहरीका उच्च अधिकारी, व्यवसायी, सर्वोच्च अदालतका न्यायाधीशसहित उच्च सरकारी अधिकारीहरुसँग अनाधिकृत सम्बन्ध राखेर विचौलियाको रुपमा काम गरि आर्थिक लाभ लिएको आरोपमा पक्राउ परेका इनम सापकोटाले आफ्नो जीवन रक्षाको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन् ।
प्रहरी हिरासतमा रहेका इनमको तर्फबाट उनकी श्रीमती कविता पाण्डेले मानव अधिकार आयोगमा दर्ता गराएको निवेदनमा इनमले आफ्नो आँखामा पट्टि बाँधेर आफुलाई विभिन्न व्यक्तिहरुका विरुद्ध बयान दिन लगाइएको बताएका छन् ।
प्रहरी हिरासतमा रहेका सापकोटाले राष्ट्रिय मानव अधिकार आयोगमा दिएको निवेदनमा आफुलाई आँखामा पट्टि बाँधी अज्ञात स्थानमा लगेर पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, नेपाली कांग्रेसको आधिकारिकता विवादबारे सभापति गगन कुमार थापा र नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ लगायत विरुद्ध बयान दिन धम्की दिइएको उल्लेख गरेका छन् ।
इनमले निवेदनमा उनिहरुविरुद्द बयान नदिए आफुलाई लामो समयसम्म जेलमा राख्ने गरि झुट्टा मुद्दा लगाउने तथा परिवारकै जिउज्यानमा समेत खतरा हुने भन्दै मानसिक यातना समेत दिएको उल्लेख गरेका छन् ।
आफुलाई विमानस्थलबाट आँखामा पट्टि बाँधी अज्ञात स्थलमा लगेको, जबर्जस्ती बयान गराई हस्ताक्षर गराएको र मानसिक यातना दिइएको इनमको तर्फबाट उनकी श्रीमती कविता पाण्डेले मानव अधिकार आयोगमा दर्ता गराएको निवेदनमा उल्लेख गरिएको छ ।
