नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूलाई पक्राउ गर्न आउने हो भने खाली हात नआउन र हत्कडी लिएर आउन सरकारलाई चुनौति दिएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय समितिको बैठकलाई सम्मबोधन गर्दै सभापति थापाले सरकारका कुनै व्यक्तिले आफूलाई तर्सान खोजेको भए गलत पार्टी र गल व्यक्ति छानेको दाबी गरे ।
राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्न प्रयोग नगर्न सरकारलाई चेतावनी दिँदै सभापति थापाले सरकारमाथी प्रश्न उठाउनेलाई अनेक घेराबन्दी गर्ने गरिएको आरोप लगाए ।
सरकारको आलोचना गर्दा आफूलाई पक्राउ गर्ने हल्ला फैलाएको भन्दै उनले त्यसबाट आफू नडराउने बताए ।
“अस्ती अलिकति प्रश्न गर्न सुरु गरेको साँच्चिकी कथा, पटकथा, अडियो, भिडियो सबै आउन थाले । साथिहरुले भन्नु भयो, तपाइँलाई पक्रिएला, समाउला, पक्राउ गर्ने साथिले यत्ति कुरा बुझे हुन्छ, खाली हात चाँही नआउनु, हत्कडी लिएर आउनु होला, खाली हात चाँही नआउनु,” सभापति थापाले भने ।
नेपाली कांग्रेस पार्टी र कांग्रेसको सभापति दुवै आफ्नो क्यारेक्टर लुज नगर्ने भन्दै उनले आफूहरुलाई कसैले अल्मल्याएर नअल्मलीने र तर्साएर नतर्सिने बताए । अहिले सामाजिक सञ्जालमार्फत् भय सिर्जना गर्न खोजीएको थापाको आरोप छ ।
सभापति थापाले आफूले एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपाका सभापति रवि लामिछाने, जसपा नेपालका अध्यक्ष सहित विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता हुने गरेको जानकारी दिए ।
सरकारले प्रतिपक्षीको आवाज दबाउन खोजेको र त्यसको सशक्त प्रतिवाद गर्ने चेतानी दिँदै थापाले आफूहरु सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कुनै पनि समस्यामा नपस्ने स्पष्ट पारे । प्रतिपक्षी दलहरुले गठबन्धन गर्ने पक्षमा पनि आफू नरहेको थापाको भनाई रहेको छ ।
