धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले पार्टीका प्रवक्ता उदयबहादुर चलाउने (दिपक) लाई पार्टीबाट निष्कासित गरेको छ ।
पार्टीले जारी गरेको वक्तव्यमा दीपकमाथि पार्टीको नीति, विधि र निर्णयविपरीत गतिविधि गरेको, पार्टीभित्र गुटबन्दी र विभाजनको प्रयास गरेको तथा षड्यन्त्रपूर्ण गतिविधिमा मुख्य भूमिका खेलेको आरोप लगाइएको छ।
पार्टीले यसअघि पनि केही नेताकार्यकर्ताले गैरजिम्मेवार ढंगले पार्टीविरोधी गतिविधि गर्दै आएको भन्दै समय–समयमा छलफल, बहस, स्पष्टीकरण र आत्मालोचनाको अवसर दिँदै आएको थियो।
तर, चेतावनी र छलफलका बाबजुद पार्टीलाई फरक दिशातर्फ लैजाने, गुटबन्दी गर्ने र विभाजनकारी गतिविधि अघि बढाइएको पार्टीको निष्कर्ष छ।
पछिल्लो समय देश बाढी र विपद्को चपेटामा परेपछि राष्ट्रिय सम्मेलन स्थगित गरी पीडित जनताको उद्धार तथा राहतमा जुट्न पार्टीले अपिल गरेको थियो। तर, उक्त अपिल र पार्टीको सर्कुलरविपरीत गतिविधि गर्दै पार्टी कार्यालयलाई जानकारी नै नदिई बैठकका लागि परिपत्र जारी गरिएको वक्तव्यमा उल्लेख छ।
