रसुवा बाढीको कारण देश नै शोकमा डुबेको बेला यता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा (बहुमत) मा भने आन्तरिक कलहले भाडभैलो मच्चिएको छ ।
बहुमतका अध्यक्ष बास्तोलाले पार्टीका नेता गुणराज लोहोनी (प्रबीर) लाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरिदिएका छन् । भदौ ९ गते बसेको अध्यक्ष मण्डलको बैठकमा गुणराजले अध्यक्ष बास्तोलामाथि तँ, तँ र म म गर्दै अनुशासन र आचारसंहिता नाघेको पार्टीको निष्कर्ष छ ।
गुणराजले बास्तोलसहित अन्य नेताहरुविरुद्ध पनि गालीगलौज, हुलहुज्जत र गुटबन्दी गर्दै आएको, पार्टीलाई कमजोर बनाउने, विषर्जनमा लैजाने षडयन्त्र गरेको बास्तोलाको दाबी छ ।
पटक–पटक सम्झाई बुझाई, चेतावनी र आत्मआलोचना र निलम्बनको कारबाही समेत गरेर रुपान्तरण हुन धेरै पटक प्रयत्न गर्दा पनि नेता गुणराजले लिखित आत्मआलोचना नगरेकोले पार्टीको साधारण सदस्य समेत नरहेन गरी पार्टीका सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरिएको अध्यक्ष बास्तोलाद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
देशमा बाढी पहिरो गइरहेको समयमा उद्धार, राहत र पुर्ननिर्माणमा जुट्नु पर्ने राजनीतिक नेतृत्वहरु एक अर्काको व्यक्तिगत स्वार्थ पूरा गर्न एक माथि अर्काले कारबाही गर्दै वक्तव्यबाजीमा रमाउँदा कार्यकर्ता तहमा भने निराशा छाएको छ ।
बास्तोला नेतृत्वको बहुमतमा पछिल्लो समय नै एक–अर्कामाथि कारबाही गरिएका विज्ञप्तिहरु सार्वजनिक हुँदै आएका छन् । तत्कालीन अवस्थामा विप्लव नेतृत्वको नेकपाबाट फुटेर बास्तोला नेतृत्वमा नेकपा बहुमत गठन भएको थियो ।
नेताहरु क्रान्ति गर्ने रणनीति बनाउनु भन्दा पनि व्यक्तिगत रुपमा आ–आफ्नो दुनो सोझ्याउने कार्य तिर लागेको आरोप लगाउँदै यस अघि नै केही नेताहरुले बहुमत पार्टी परित्याग गरेका थिए ।
