नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले भ्रष्टाचार, दलाली, तस्करी, मिटरब्याज, भूमाफिया तथा बिचौलियाविरुद्ध ‘जनकारबाही’ अघि बढाउने चेतावनी दिएको छ।
पार्टीका महासचिव गौरवद्वारा जारी प्रेस विज्ञप्तिमा जनताको जनजीविका, राष्ट्रिय स्वाधीनता र जनताका समस्यालाई लिएर पार्टीले निरन्तर संघर्ष गर्दै आएको दाबी गरिएको छ।
विज्ञप्तिमा बालेन्द्र शाह नेतृत्वको सरकारले जनताका समस्या समाधान गर्नुको सट्टा थप जटिलता सिर्जना गरेको आरोप लगाइएको छ। मिटरब्याज, वित्तीय संस्था तथा अन्य जनजीविकासँग जोडिएका समस्याको समाधान गर्न सरकार असफल भएको र त्यसको सट्टा दमनको बाटो रोजेको माओवादीको आरोप छ।
पार्टीले भ्रष्टाचारी, दलाल, तस्कर, भूमाफिया, मिटरब्याजी, बिचौलिया, सुदखोर तथा गुण्डागर्दी र अराजक गतिविधिमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेको छ।
सरकारले त्यस्ता व्यक्तिहरूलाई संरक्षण गरेको आरोप लगाउँदै पार्टीले जनताको माग र भावनाअनुसार ‘जनकारबाही’ अघि बढाइने चेतावनी दिएको हो।
विज्ञप्ति मार्फत युवा, विद्यार्थी, मजदुर, किसान, पत्रकार तथा सम्पूर्ण नेपाली जनसमुदायलाई आफ्नो अभियानबारे जानकारी गराएको जनाइएको छ ।
