काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार भएको बताएका छन् ।
राष्ट्रिय सूचना आयोगको १७ औँ स्थापना दिवसका अवसरमा शितल निवासमा आयोजित सभालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सूचनाको हकले नागरिकलाई शसक्त बनाउनुको साथै सरकार लगायत सबै सार्वजनिक निकायलाई जिम्मेवार बनाउने बताए ।
उनले भने, “लोकतन्त्रमा शासन प्रणालीलाई पारदर्शी तथा जवाफदेही बनाउने, बेथितिको अन्त्य गर्ने, सुशासनको कायम गर्ने, लगानीको सदुपयोग गरेर जनतामा सेवा प्रवाह अभिवृद्धि गर्ने र यही व्यवस्थामा मात्र मेरो भविष्य सुरक्षित हुन्छ भनेर लोकतन्त्रप्रति जनताको भरोसा जागृहत गराउने उपयुक्त औजार सूचनाको हक हो ।”
लोकतन्त्रको संस्थागत विकास, सुशासन प्रवद्र्धन तथा विकास निर्माणमा जनताको अर्थपूर्ण सहभागीताका लागि महत्वपूर्ण माध्यमका रुपमा रहेको सूचनाको हकको कार्यान्वयन थप प्रभावकारी बनाउनु पर्ने राष्ट्रपति पौडेलको भनाई रहेको छ ।
लोकतन्त्र सार्वभौम नागरिक र नागरिकको स्वतन्त्रताको सर्वाेच्चता स्थापित गर्ने दर्शनबाट अभिप्रेरित व्यवस्था रहेको भन्दै उनले सुसूचीत नागरिकमात्रै सर्वशक्तिमान हुने बताए ।
