काठमाडौं । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) का महासचिव उषाकिरण आजादले सुकुम्बासी बस्तीमा डोजर चलाउने बालेन्द्र शाह सरकारको तयारीले जनतामा आतंक सिर्जना गरेको आरोप लगाएका छन् ।
सरकारले थापाथलिस्थित सुकुम्बासी बस्ती खाली गर्ने चेतावनी दिएसँगै अटेरी गरे डोजर चलाएर हटाउने तयारी गरेको छ । सरकारको यस्तो कदमपछि महासचिव आजादले बालेन सरकारले देशभरका जनतामा आतंक सिर्जना गरेर फासीवाद लागू गर्न खोजेको आरोप लगाएका हुन् । सुकुम्बासी समस्याको दीर्घकालीन योजना निर्माण गर्नुको साटो बल प्रयोग गरेर जनतालाई उठिबास लगाउने कार्य मानवता विरुद्धको आपराधिक कार्य भएको उनको भनाइ छ।
उनले भनेका छन्, “सुकुम्बासी समस्या समाधानको दीर्घकालीन योजना नबनाएर बल प्रयोग गरी उठिबास लगाउने जुन कार्य बालेन सरकारले गरिरहेको छ, यो निन्दनीय मात्रै होइन, मानवता विरुद्धको आपराधिक कार्य हो।”
महासचिव आजादले बालेन सरकारले जनतालाई शरणार्थीको जत्तिको पनि व्यवहार नगरेको र अपमान गरेको भन्दै यस्तो कार्य भर्त्सनायोग्य रहेको बताएका छन्। यस फासीवादी कदमका विरुद्ध खडा हुन उनले सम्पूर्ण समाजसेवी, बुद्धिजीवी, लेखक, पत्रकार, विद्यार्थी र आम जनसमुदायलाई अपिल समेत गरेका छन्।
“जनताले यो सरकारलाई अपदस्थ गर्ने दिन धेरै टाढा छैन। हनिमुन पिरियड नसकिँदै बालेन सरकारको काउन्टडाउन सुरु भइसकेको छ। बालेनको यो फासीवादी कदम नसच्चिए, इतिहासदेखि वर्तमानसम्म नेपाली जनताले गर्ने प्रतिरोधी प्रतिवाद भयानक हुनेछ” महासचिव आजादले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
उनले ‘फासिस्टवादी बालेन सरकार बेलैमा चेतना भया’ भन्दै जनतामाथिको राज्य आतंक तत्काल बन्द गर्नुपर्ने बताएका छन् । सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउने तयारी पछि हाल थापाथलिस्थित सुकुम्बासी बस्तीमा प्रदर्शन भैरहेको छ ।
जनेजी युवाहरु र स्थानीय सुकुम्बासीहरुले अहिले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा उत्रिएका उनीहरुले प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपाका नेतृत्वहरुविरुद्ध नाराबाजी गरिरहेका छन् भने रास्वपालाई बाचापत्र स्मरण गराई रहेका छन् ।
