काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सङले आम निर्वाचनलाई सम्पन्न गर्न चीनबाट नेपाल सरकारलाई हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आगामी निर्वाचनका अतिरिक्त जारी द्धिपक्षीय सहयोगमा परियोजनामा पनि प्रगति भएकोमा सन्तुष्टि व्यक्त गर्ने चिनियाँ राजदूतले ‘बेल्ट एण्ड रोड’ परियोजनामा पनि उल्लेख्य प्रगति भएको बताए ।
राजदूत सङले शुक्रबार साँझ सञ्चार माध्यमका प्रमुख तथा सम्पादकहरुसँग भएको छलफलमा उनले नेपालमा व्यापार, लगानी, औद्योगीक पार्क निर्माण लगायत सबैमा प्रगति भएको केही आयोजनामा केही बिलम्ब हुनु अस्वभाविक नरहेको बताए ।
उनले भने, “बिआरआई परियोजनामा प्रगति भएको छ । ती सबै प्रशासनीक प्रक्रियामा छन् । तिनको सफल कार्यान्वयनका निम्ती स्थायी सरकार अपरिहार्य छ । आगामी चुनावपछि बन्ने सरकारबाट ती परियोजना दु्रत गतिमा कार्यान्वयन हुन सक्छन् । हामी अन्तरिम सरकारसँग पनि निकट सम्पर्क र समन्वय गरिरहेका छौं । तर, यो सरकारको म्यान्डेट आम निर्वाचन गराउनु भएकाले हामीले निर्वाचनलाई नै प्राथमिकतामा राखेर काम गरिरहेका छौं ।”
नेपालको राजनीतिक स्थायित्व, विकास र समृद्धि नै चीनको चाहना भएको दोहोर्याउँदै राजदूत सङले अन्तरिम सरकारसँग निकट सम्पर्कमा रहेर चीनले काम गरिहेको बताए । रणनीतिक योजना तथा भरपर्दाै विकास साझेदारको अभावमा नेपालको विकास सुस्त गतिमा भएको विश्लेषण सुनाउँदै उनले नेपालको विकासमा सघाउन चिनियाँ पञ्चवर्षीय योजनामा नेपालको विकासका परियोजना पनि समाहित गरिएको उनले जानकारी दिए ।
ताइवान, हङकङ र मकाउ चीनका अभिभाज्य भू–भाग हुन भन्ने मान्यतालाई नेपालका सबै सरकारले स्वीकार गरेर एक चीन सिद्धान्तप्रति ऐक्यबद्धता जनाए तदअनुरुप व्यवहार गरेको आभार व्यक्त गर्दै चिनियाँ राजदूत सङले नेपाल र चीनबीचको सम्बन्ध सधै सुमधुर रहेको बताए ।
