आइतबार, साउन ३१ गते २०८३    

आइतबार, साउन ३१ गते २०८३    

राजनीति

प्रदर्शनकारीहरूले आगो लगाई दिएको घरमा जलेर पत्रकार सुरेश रजकको मृत्यु हुनु जघन्य अपराध : कमल थापा 

प्रदर्शनकारीहरूले आगो लगाई दिएको घरमा जलेर पत्रकार सुरेश रजकको मृत्यु हुनु जघन्य अपराध : कमल थापा 

राप्रपाका नेताहरु धवल शमसेर राणा, रवीन्द्र मिश्र, नवराज सुवेदी, स्वागत नेपाल लगायत सबैको तत्काल रिहाई माग

शनिबार, चैत १५ २०८१
शनिबार, चैत १५ २०८१
  • काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौंमा प्रदर्शनको क्रममा भएका अप्रिय घटनाहरु दुःखद भएको बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस जारी गर्दै कुनै पनि वहानामा हुने हिंसा र अराजक गतिविधि समर्थन गर्न नसकिने बताए । 

    प्रहरीको गोलीबाट सविन महर्जनको निधन हुनु र प्रदर्शनकारीहरूले आगो लगाई दिएको घरमा जलेर पत्रकार सुरेश रजकको मृत्यु हुनु जघन्य अपराध भएको भन्दै उनले घटनाको निष्पक्ष छानविन हुनुपर्छ र दोषीलाई कार्वाही गर्नै पर्ने बताएका छन् । 

    पार्टी कार्यालय, निजी घर, सुपर मार्केट र सरकारी कार्यालयमा भएको तोडफोड र आगजनी निन्दनीय भएको अध्यक्ष थापाको भनाई रहेको छ । उनले  हिजोको घटनालाई जोडेर राजा वा राजसंस्थासहितको प्रजातन्त्रको विचारलाई बदनाम गर्ने वा दमन गर्ने सोच राखियो भने त्यसले परिस्थितिलाई झन जटिल बनाउने बताए । 

    हिन्दुराष्ट्र र राजसंस्था पक्षधरलाई कत्ति पनि विचलित नहुन आब्हान गर्दै उनले हिजोको घटना वा कुनै दल वा समुहले गर्ने कार्यसँग राजालाई जोड्न खोज्नु सर्वथा अनुपयुक्त र अनावश्यक छ हुने बताए । 

    साथै अध्यक्ष थापाले हिंसा, अराजक वा अपराधिक कुनै पनि घटनामा संलग्न नरहेको दाबी गर्दै राप्रपाका नेताहरु धवल शमसेर राणा, रवीन्द्र मिश्र, नवराज सुवेदी, स्वागत नेपाल लगायत सबैको तत्काल रिहाई माग समेत गरेका छन् । 

    हेर्नुहोस थापाको फेसबुक स्टाटस्ः 

    चैत १५ गते काठमाडौंमा प्रदर्शनको क्रममा भएका अप्रिय घटनाहरु दु:खद छन्। कुनै पनि वहानामा हुने हिंसा र अराजक गतिविधि समर्थन गर्न सकिन्न।
    प्रहरीको गोलीबाट सविन महर्जनको निधन हुनु र प्रदर्शनकारीहरूले आगो लगाई दिएको घरमा जलेर पत्रकार सुरेस रजकको मृत्यु हुनु जघन्य अपराध हुन्। यो घटनाको निष्पक्ष छानविन हुनुपर्छ र दोषीलाई कार्वाही गर्नै पर्छ।
    पार्टी कार्यालय,निजी घर, सुपर मार्केट र सरकारी कार्यालयमा भएको तोडफोड र आगजनी निन्दनीय छ।
    तर, हिजोको घटनाको सन्दर्भमा केही गंभीर प्रश्नहरू पनि छन्। निजी घरमा पसेर प्रहरीले जुलुसमा किन अन्धाधुन्ध अश्रुग्यास प्रहार गर्यो? कार्यक्रम शुरु हुनु अगावै मञ्चमा किन अश्रुग्यास प्रहार गरियो? सामान्य झडप हुँदा किन अनावश्यक बल प्रयोग गरेर भिडलाई उत्तेजित बनाउने काम भयो? परिस्थिति जटिल छ भन्ने पूर्व सूचना हुँदाहुँदै किन आवश्यक सतर्कता अपनाईएन? राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको अभियानलाई बदनाम गर्न र तुहाउन कहिँ कतैबाट षडयन्त्र त भएको थिएन? आन्दोलनलाई अराजक बनाउने सरकारी वा अन्य कसैको नियोजित प्रयास त होइन?
    यि र यस्ता प्रश्नहरूको निष्पक्ष छानविन हुनुपर्छ।
    भविष्यमा यस्ता घटनाहरू दोहरिन नदिन आयोजक र सरकार दुवै सतर्क र संयम हुनु जरुरी छ। तर, हिजोको घटनालाई अतिरञ्जित ढङ्गबाट बढाई चढाई गरी प्रतिशोध साध्ने वा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको आन्दोलनलाई तुहाउन सकिन्छ भन्ने कसैले सोचेको छ भने त्यो असफल र प्रत्युत्पादक हुनेछ। हिजोको घटनालाई आधार बनाएर देशमा कायम रहेको भ्रष्ट व्यवस्था र भ्रष्ट शासकका ज्यादतीलाई लुकाउन सकिन्छ भन्ने कसैले नसोचे पनि हुन्छ।
    यहि घटनालाई जोडेर अथवा यही मौका हो भन्ने ठानेर राजा वा राजसंस्थासहितको प्रजातन्त्रको बिचारलाई बदनाम गर्ने वा दमन गर्ने सोच राखियो भने त्यसले परिस्थितिलाई झन जटिल बनाउने छ।
    केही अप्रिय घटनाहरुको वावजुद हिजोको प्रदर्शनले हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा जनलहर बढ्दो छ, र त्यो सशक्त हुँदै गएको छ भन्ने तथ्यलाई समेत उजागर गरेको छ। त्यसर्थ, जनताको परिवर्तित चाहनाको सम्मान गर्दै वार्ताको माध्यमबाट सबै बिचार र शक्ति अटाउने निकास खोज्न सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछु।
    भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको पक्षमा आगामी दिनमा शान्तिपूर्ण ढङ्गबाट हामी अघि बढ्ने छौँ। हिजोको घटनाबाट पाठ सिकेर राष्ट्रवादी आन्दोलनलाई अझ सशक्त तुल्याउनु पर्दछ । हिन्दुराष्ट्र र राजसंस्था पक्षधरलाई कत्ति पनि विचलित नहुन म आह्वान गर्दछु।
    हिजोको घटना वा कुनै दल वा समुहले गर्ने कार्यसँग राजालाई जोड्न खोज्नु सर्वथा अनुपयुक्त र अनावश्यक छ ।
    साथै, हिंसा, अराजक वा अपराधिक कुनै पनि घटनामा संलग्न नरहेका राप्रपाका नेताहरु धवल शमसेर राणा, रवीन्द्र मिश्र, नवराज सुवेदी, स्वागत नेपाल लगायत सबैको तत्काल रिहाई माग गर्दछु ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार