काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि भोली (आइतबार) देखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।
निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले आज एक विज्ञप्ति जारी गर्दै मंसिर १६ गते आइतबार सम्पन्न हुने स्थानीय तह उपनिर्वाचनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा २ बमोजिम उपनिर्वाचन हुने सम्बन्धित जिल्लाका व्यक्ति, निकाय लगायतलाई निर्वाचन आचारसंहिता लागू हुने जानकारी दिएकी छन् ।
निर्वाचन आयोगका अनुसार नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र ती निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलका भातृ संगठन, उम्मेदवार तथा सम्बन्धीत व्यक्ति सार्वजनिक पद धारण गरेका व्यक्ति, कर्मचारी तथा कामदार, वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार र आयोगले तोकेका अन्य निकाय वा व्यक्तिले आचारसंहिताको पालना गर्नुपर्नेछ ।
आचारसंहिता लागू भएको जिल्लाका निर्वाचन हुने स्थानीय तहबाहेक अन्य क्षेत्रमा निर्वाचन आचारसंहिताले निषेध गरेका कार्य गर्नु/गराउनु परेमा निर्वाचन आयोगलाई पूर्वजानकारी दिई निकास भएबमोजिम गर्न सकिने आयोगले जनाएको छ ।
विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।
