काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् ।
सहकारी ठगी प्रकराण र संगठीत अपराध मुद्धामा कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै लामिछानेलाई आज पार्टी कार्यालय पुगेर सीआईबीको टोलीले पक्राउ गरेको हो ।
अब उनलाई सीआईबीको टोलीले कास्की लिनेछ । जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले शुक्रबार लामिछानेसहित १४ जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।
पक्राउ पुर्जी जारी भएकाहरुमा रवि लामिछाने, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र वावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, विर बहादुर रानाभाट, दिपा न्यौपाने र कल्पना कुमारी श्रेष्ठ छन् ।
पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई पक्राउ गर्न प्रहरीसहित सीआईबीको टोली रास्वपा कार्यालय पुगेको थियो । रास्वपा कार्यालयमा सीआईबीको टोलीले लामिछानेलाई पक्राउ पुर्जी थमाएर पक्राउ गरेको हो ।
पक्राउ पर्नु अघि लामिछानेले कार्यालयमा उपस्थित नेता, कार्यकर्ताहरुलाई संक्षिप्त सम्बोधन गरेका थिए । उनले आफूविरुद्ध राजनीतिक पूर्वाग्रह राखिएको र यसविरुद्ध लड्न कार्यकर्तालाई आग्रह गरेका थिए ।
लामिछाने पक्राउ पर्दा रास्वपा कार्यालयमा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए ।
