काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सहकारीको रकम हिनामिना गरेको प्रकरणमा अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए ।
सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
सूर्यदर्शनको रकम अपचलन गरेको आरोपमा असोज ६ मा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका थिए । प्रहरीले जोशीको बयान लिइसकेको छ ।
सहकारीको रकम हिनामिना गरेको विषयमा अनुसन्धान गर्न बनेको संसदीय छानबिन समितिले लामिछानेसहितलाई दोषी ठहर गर्दै कारबाही गर्न सिफारिस गरेको थियो ।
