काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारी विधेयक पारित गर्ने समय आएको बताएका छन् ।
२१ औँ निजामती सेवा दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निजमती सेवा ऐन पारित गर्ने समय आएको भन्दै उक्त ऐन चाँडै संसदबाट पारित गर्ने प्रतिबद्धता जनाए ।
उनले भने, “हामी अब निजामती सेवा विधेयकलाई ऐनको रुपमा दिन्छौं । विधेयक पारित गरेर अघि बढ्छौँ । त्यो सदनमा पेश गरेको अलिक समय भयो होला । अब समय आयो भन्ठान्छु । थुप्रै कुराहरुको लागि समय बलवान हुन्छ नी । अब समय आएको छ । हामी चाँडै निजामती सेवा विधेयकलाई संसदबाट पारित गर्छाैं ।”
हाल संसदका दुई ठूला दलहरु मिलेर सरकार बनेकाले ऐन कानून बनाउनको लागि पनि संसदमा सहज बहुमत रहेको उनले बताए । “देशको लागि लडेका, लोकतन्त्रको लागि लडेका पार्टीहरुको सरकार छ । त्यसो भएकोले पनि संख्याको हिसाबमा त्यति अप्ठ्यारो छैन्,” ओलीले भने ।
प्रधानमन्त्री ओलीले ऐन, कानूनहरु निर्माण गर्दा आफूहरु बहुमतको बलमा मात्र नभएर सकेसम्म सहमति गर्ने पक्षमा रहेको बताए । उनले कर्मचारीहरुलाई प्रयोग नहुन भन्दै भ्रष्टाचार गर्ने नेताहरुको रेकर्ड राख्न निर्देशन समेत दिए ।
