काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अधयक्ष केपी शर्मा ओलीले भलिबल खेलाडीको माग अनुसार अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आज बिहान राष्ट्रिय महिला भलिबल टीमसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रतिबद्धता व्यक्त गरको हुन् । साथै उनले उच्च मनोबल बनाएर प्रदर्शन गर्दा सफलता मिल्ने बताए ।
“तपाईंहरुलाई थाहा छ कि सरकारको ढुकुटीमा धेरै रकम छैन् तर, हामी गर्ने पर्ने कामहरु गर्नेछौं । आगामी खेलमा जित्छौं जुन तपाईहरुको मनोबल छ, त्यो साकार होस् । हामीले खेल खेल्ने भनेकै जित्नको लागि हो, त्यस कारण राम्रो ध्यान दिएर जित्छु भन्ने आशा लिएर लाग्नुस् । सफलता पक्कै मिल्नेछ,” प्रधानमन्त्री ओलीले भने ।
छलफलका क्रममा उनले काभा वुमन नेसन्स भलिबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोलीका प्रत्येक खेलाडीलाई नेपाल सरकारले जनही रु ३ लाख दिने निर्णय गरेको जानकारी दिए ।
प्रधानमन्त्री ओली र खेल प्रशिक्षक एवम् खेलाडीबीच यस खेलले हालसम्म गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालले कसरी विजय सुनिश्चित् गर्ने भन्ने विषयमा छलफल केन्द्रीत रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
