नेपाल र नामिबियाबीच औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनाल र नामिबियाका अन्तर्राष्ट्रिय तथा व्यापार मन्त्री सेल्मा आशिपला-मुसाभीले शुक्रबार दुई देशबीच कूटनीति सम्बन्ध स्थापना गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हस्ताक्षर अघि दुवै मन्त्रीले नेपालमा हालै आएको जलवायु विपद्को विनाशकारी प्रभावलगायत आपसी हितका विविध विषयमा विचार-विमर्श गर्नुका साथै दुवै देश र जनताको साझा प्रगति तथा समृद्धिका लागि द्विपक्षीय सहयोगलाई अघि बढाउन नयाँ उपायहरूको खोजी गर्नुपर्नेमा महत्त्वमा जोड दिएका थिए ।
योसँगै नेपालले कूटनीति सम्बन्ध स्थापना गरेका देशको संख्या १८७ पुगेको छ ।
यस अघि यही सेप्टेम्बर २३ मा नेपालले ग्रेनाडा, १४ मा माइक्रोनेसिया र सेप्टेम्बर १ मा गिनी बिसाउसँग कुटनितिक सम्बन्ध स्थापना गरेको थियो ।
