प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनले निम्त्याउने समस्यासँग जुध्न त्रिदेशीय संयन्त्रको प्रस्ताव गरेका छन् ।
शुक्रबार बिहान संयुक्त राष्ट्र संघको ८१औं महासभालाई सम्बोधन गर्दै नेपाल, भारत र चीनको नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्ने प्रस्ताव गरेका हुन् ।
प्रधानमन्त्री शाहले भने 'हिन्दुकुश हिमालय क्षेत्रमा करिब दुई अर्ब मानिस बसोबास गर्छन् । यी हिमालले नेपालभन्दा धेरै टाढासम्मका मानिसलाई पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जन उपलब्ध गराउँछन् । हिमालय पृथ्वीको बाहिरी भागमा रहेको क्षेत्र होइन। यो पृथ्वीको जीवन धान्ने प्रणालीको एउटा हिस्सा हो ।'
उक्त संयन्त्रमार्फत भूउपग्रहबाट प्राप्त तथ्यांक र विशेषज्ञता आपसमा साझा गरिनुपर्ने पनि प्रधानमन्त्रीको भनाइ छ ।
'तत्काल चाल्नुपर्ने पहिलो कदमका रूपमा हामी नेपाल, भारत र चीनको नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्ने प्रस्ताव गर्दछौँ । विपत्ति आइपर्दा सीमापार सहायता समन्वय गरौँ । हिमालयलाई विभाजित सूचनाको सीमारेखा होइन, अन्तर्राष्ट्रिय सहकार्यको प्रयोगशाला बनाऔँ,' उनले भने ।
प्रधानमन्त्री शाहले जोखिमपूर्ण हिमतालको निगरानी,संयुक्त पूर्वसूचना प्रणालीलाई बलियो बनाउनुपर्नेमा पनि जोड दिए ।
