काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधि सभाको चुनाव आफूले लगभग रुकुम पूर्वबाट लड्ने अन्तिम टुङ्गो लागेको घोषणा गरेका छन् ।
शनिबार पश्चिम रुकुममा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले आफू रुकुम पूर्वबाट चुनाव लड्ने लगभग निश्चित जस्तै भएको जानकारी दिए ।
उनले भने, “हुनसक्छ अहिलेको चुनावमा रुकुमैबाट लड्छु। अहिलेको रुकुम फेरि रुकुम भन्ने नठान्नुहोला पूर्वी रुकुममा आउने म करिब निश्चित भएको छ। म पूर्वी रुकुम आउनु भनेको पश्चिम रुकुम पनि आउने नै हो।”
हिजो आफूहरूले जनयुद्ध सुरु गर्दा सिङ्गो रुकुम र रुकुमेली जनताहरूको साथ, त्याग र बलिदान बलिदानले काँधमा काँध मिलाइएको संयोजक प्रचण्डको भनाइ रहेको छ।
रुकुम पश्चिमको विकास निर्माणलाई नयाँ सिराबाट र जनताका दुःखसुखमा एकाकार हुनका लागि आफू पहिलेको भन्दा अझ झन बढी रुकुम आउने उनले बताए ।
पार्टी परित्याग गरेका रुकुम पश्चिमका नेता जनार्दन शर्माप्रति लक्षित गर्दै संयोजक प्रचण्डले उनी पलायन भएको र अन्त्यमा कम्युनिस्ट पार्टी छोड्ने ठाउँमा पुगेको बताए ।
