काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री मुकुल ढकालले सभापति रबि लामिछानेलाई राजनीतिबाट बिदा गर्नुपर्ने बताएका छन् ।
सहकारी ठगीसम्बन्धी मुद्दामा उच्च अदालत बुटवल तुलसीपुर इजलासको आदेशपछि शुक्रबार राती लामिछाने पक्राउ परेपछि सामाजिक संजाल फेसबुकमा एक स्टाटस जारी गर्दै लामिछानेलाई राजनीतिबाट बिदा गरी पार्टी निर्माणमा लाग्नुपर्ने बताएका हुन् ।
"रविको पार्टी होइन राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ , यो प्रस्तावमा नआइ सुख छैन । रवि दाइलाई राजनीतिबाट बिदा गरी, राष्ट्रीय स्वतन्त्र पार्टी निर्माणमा लागौँ । यसले दाइलाई पनि सबै कुरा छोडेर, मुद्दा मामिलामा फोकस हुन सजिलो हुन्छ र पार्टी पनि बन्ने दिशामा अघि बढ्छ," ढकालले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।
अब पार्टी जोगाउने उपाय भनेको असारको प्रस्तावमा फर्कनु हो भन्दै ढकाल्ले रविको पार्टी नभई राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने निर्णय गर्नु भएको र अनि मात्र नेपाल, नेपाली जनता, विधिको शासन र नैतिक मुल्यमान्यताको राजनीतीलाई न्याय मिल्ने बताएका छन् ।
उच्च अदालतको आदेशपछि प्रहरीले शुक्रबार राती नै लामिछानेको बुढानिलकण्ठस्थित घरमै पुगेर पक्राउ गरिसकेको छ । उनलाई आज आज भैरवा लगिदैँछ । आजै भैरहवा लगिएपनि सभापति रवि लामिछानेलाई सोमबार अदालतमा पेश गरिनेछ । आज (शनिबार) र भोली आइतबार पनि सार्वजनिक बिदा परेकाले लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिनेछ ।
रास्वपाका पूर्व महामन्त्रीसमेत रहेका ढकाललाई केही महिना अघि रास्वपाको करबाहीमा परेका थिए । कारबाहीमा परेका ढकाल बेलाबेला सामाजिक संजालमार्फत रास्वपा र सभापति लामिछानेको विषयमा अभिव्यक्ति दिइरहेका हुन्छन् ।
यस्तो छ मुकुल ढकालको स्टाटसको पूर्णपठ:
जिल्लाको धरौटी आदेश, उच्चको थुनामा , सर्वोच्चमा के हुने हो ? मानिलिऔँ, सर्वोच्चले छोडिहाले, फेरी जिल्लाको फैसलामा जान सक्छन् । फेरी उच्चले छोड्न सक्छ । अनि फेरी सर्वोच्चले लान सक्छ । १८-२० वटा अदालतको गोलचक्कर छ ।
धरौटीमा छोड्दा पटक पटक यो देशमा न्याय जिउँदो छ भनेर अदालतको सम्मान गरेका थिए । मैले त भनेकै थिए, धेरै खुशी नहुनु । तर खुशी भएपछी, कसको के लाग्छ र , बधाई दिए । अब अदालतलाई गाली गर्नुको के तुक रहन्छ र ! हिजो जसरी अदालतको फेसलाको स्वागत गरिएको थियो, त्यसरी स्वागत गर्ने ।
अत: असार १९, २०८१ मा मैले पार्टीको केन्द्रीय समितिको बैठकमा राखेको प्रस्ताव - रविको पार्टी होइन राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ, यो प्रस्तावमा नआइ सुख छैन । रवि दाइलाई राजनीतिबाट बिदा गरी, राष्ट्रीय स्वतन्त्र पार्टी निर्माणमा लागौँ । यसले दाइलाई पनि सबै कुरा छोडेर, मुद्दा मामिलामा फोकस हुन सजिलो हुन्छ र पार्टी पनि बन्ने दिशामा अघि बढ्छ ।
असारमा भनेको कुरा चैत्र लाग्दासम्म पनि बुझ्न सकेनौँ भने, राजनीति के गर्छौ ? छोडिदिए हुन्छ । अब पार्टी जोगाउने उपाय भनेको असारको प्रस्तावमा फर्कनु हो । रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने निर्णय गर्नु हो । अनि मात्र नेपाल, नेपाली जनता, विधिको शासन र नैतिक मुल्यमान्यताको राजनीतीलाई न्याय मिल्छ ।
अन्त्यमा , रवि दाइले मलाई बोलेको अन्तिम वाक्य थियो -"देख्यौ, शुन्यमा पुर्याए तिमीलाई ।" हुन त मैले समीक्षा प्रतिवेदनमा नै शुन्यबाट यात्रा शुरू गर्दै छु भनेर लेखेको थिएँ । दाइलाई सुनाइदिनु होला , "दाइ, म शुन्य थिएँ, शुन्य छु र शुन्य नै रहुँला, तर अब तपाईं कति ?"
